दशैंको नाममा सबै पैसा नसक्नुस् है, कात्तिक ६ र १५ गते दुई कम्पनीको आईपीओ निष्काशन हुँदै

काठमाडौं, असोज ३१ । हिमालयन उर्जा विकास कम्पनीले कात्तिक ६ गतेदेखि र माथिल्लो तामाकोशीले कात्तिक १५ गतेदेखि साधारण शेयर (आईपीओ ) निष्काशन गर्दैछ ।

हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाबासीका लागि निष्काशन गर्न लागेको हो ।

यो कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका निम्ति प्रतिकित्ता १ सय रुपैयाँका दरले ९ लाख ९० हजार कित्ता शेयरको कात्तिक ६ गतेबाट आईपीओ निष्काशन गर्दै छ ।

छिटोमा २० गतेसम्म र ढिलोमा मंसिर ५ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्नु पर्नेछ ।

यो आयोजानाको शेयरको लागि न्युनतम ५० कित्तादेखि अधिकतम ४ हजार ९ सय कित्तासम्म आवेदन दिन पाइने उल्लेख छ ।

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दालाई ३ लख ९६ हजार कित्ता शेयर दिने भएको छ । प्रभावित क्षेत्रलाई छुट्याएको शेयरमध्यबाट यी २ क्षेत्रको ३ वटा वडाको लागि उक्त शेयर ४० प्रतिशत छुट्याएको उल्लेख छ ।

बाँकी ६० प्रतिशत अर्थात ५ लाख ९४ हजार कित्ता शेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ लाई भएको उल्लेख छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री वितरण गरेको शेयर सर्वसाधारणका निम्ति निष्काशन गरेर बाँडफाँडसमेत भएको ३ वर्ष पूरा नभएसम्म बिक्री गर्न पाइनेछैन ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको छ ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति बनाउन १ अर्ब ९१ करोड र माथिल्लो खिम्तीमा १ अर्ब २३ करोड रुपैयाँ अनुमान गरिएको छ । आयोजनाबाट आउदो चैतसम्म विजुली उत्पादन हुने छ ।

त्यसैगरी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधरणहरुको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीका अनुसार कम्पनीले निष्काशन गर्न लागेको आईपीओ कार्तिक १५ गतेदेखि निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले यस अघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणका लागि कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हाइड्रोपावर कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेमा मात्र ढिलोमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक छ भने सनराइज क्यापिटल सहबिक्री प्रबन्धक हो ।

नेपालको शेयरबजारमा आएको यो नै शेयर संख्या र रकमको हिसाबले सबै भन्दा ठुलो आईपिओ हो ।

आइपिओमा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आइपिओमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ । इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३, ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउंछ।

कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाटको परियोजनामा कम प्रतिफल क्षमता रहेको, नाकाबन्दी, भूकम्प जस्ता विविध कारणले निर्माणमा ढिलाई हुँदा लागत बढ्नु, निर्माणको लागि लागि लिएको ठुलो मात्राको ऋण चुक्ता हुन् समय लाग्ने कारणले गर्द औसत भन्दा कमजोर रेटिंङ पाएको कम्पनीले जनाएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब भए पनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य राखेको छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७ दशमलव २८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २ दशमलव ८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३ दशमलव ८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।

कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्नु अगाडि नै स्थानीयबासीको लागि निष्काशन भएको आईपिओ बाँडफांड गर्ने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, अशोज ३१, २०७५ /Wednesday, October 17th, 2018, 9:16 am