माथिल्लो तामाकोशीको साधारण शेयर निष्काशन, कहाँबाट आवेदन दिने ?

काठमाडौं, असोज २९ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधरणहरुको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । हाइड्रोपावर कम्पनीका अनुसार कम्पनीले निष्काशन गर्न लागेको आईपीओ कार्तिक १५ गतेदेखि निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले यस अघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणका लागि कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

हाइड्रोपावर कम्पनीको आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आईपिओमा छिटोमा कार्तिक १९ गतेसम्म र त्यस अवधिमा माग अनुसारको आवेदन नपरेमा मात्र ढिलोमा मंसिर १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक छ भने सनराइज क्यापिटल सहबिक्री प्रबन्धक हो ।

नेपालको शेयरबजारमा आएको यो नै शेयर संख्या र रकमको हिसाबले सबै भन्दा ठुलो आईपिओ हो ।

आइपिओमा धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो शेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आइपिओमा आवेदन दिन सक्नेछन् ।

इक्रा नेपालले आईपिओलाई ग्रेड ४ को रेटिंङ दिएको छ । इक्रा नेपालले १ देखि ५ अंक स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ। ग्रेड २, ३, ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउंछ।

कम्पनीले निर्माण गरिरहेको ४५६ मेगावाटको परियोजनामा कम प्रतिफल क्षमता रहेको, नाकाबन्दी, भूकम्प जस्ता विविध कारणले निर्माणमा ढिलाई हुँदा लागत बढ्नु, निर्माणको लागि लागि लिएको ठुलो मात्राको ऋण चुक्ता हुन् समय लाग्ने कारणले गर्द औसत भन्दा कमजोर रेटिंङ पाएको कम्पनीले जनाएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब भए पनि बढेर ४९ अर्ब पुगेको छ । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य राखेको छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ ।

आयोजनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७ दशमलव २८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २ दशमलव ८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३ दशमलव ८४ प्रतिशत शेयर स्वामित्व रहनेछ।

कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्नु अगाडि नै स्थानीयबासीको लागि निष्काशन भएको आईपिओ बाँडफांड गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज २९, २०७५ /Monday, October 15th, 2018, 9:07 am