यो वर्ष लोकसेवाले कर्मचारी नमाग्ने, हेर्नुस् कुन कुन समूहलाई पर्छ असर

काठमाडौं, असोज २८ । यो वर्षको असोज महिनामा लोकसेवा आयोगले कर्मचारी नमाग्ने भएको छ । सधैँ असोजको अन्तिम बुधबार विभिन्न पदमा दरबन्दी पुर्तीका लागि विज्ञपन प्रकाशन गर्ने गरेको भएपनि यो वर्ष कर्मचारी नमाग्ने भएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन प्रक्रिया नै अगाडि नबढेकोले रिक्त दरबन्दी उकिन नभएकोले कर्मचारी नमाग्ने आयोगले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगलाई अहिलेसम्म रिक्त दरबन्दीको विवरण नदिएका कारण उसको नियमित विज्ञापनमा असर परेको हो ।

अहिलेसम्म प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुन सकेको छैन । स्थानीय तह, प्रदेश र केन्द्रमा गरी अझै कति कर्मचारी आवश्यक छ भन्ने तथ्यांक नभएका कारण विज्ञापनमा अन्योल भएकाले यसवर्षको विज्ञापन सूचना प्रकाशित नगर्ने लोक सेवा आयोगले स्पष्ट पारेको छ ।

संघीय मन्त्रालयले स्थानीय तहमा दुई महिनाभित्र समायोजन प्रक्रिया अगाडि बढाउने गरी समायोजन ऐनलाई संसोधन गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ । अध्यादेश आएलगत्तै रिक्त दरबन्दीको अध्ययन गरेर कर्मचारी पदपूर्तिको विज्ञापन गर्ने योजना आयोगले जनाएको छ ।

कर्मचारी माग गर्ने विज्ञापन रोकिदा विशेष गरी प्रशासन, प्राविधिक, शिक्षा र स्वास्थ्य समूहलाई प्रभाव पर्नेछ । तर, परराष्ट्र, लेखा, संसद र न्याय सेवा समूहको विज्ञापन भने नियमित कार्यतालिका अनुसार नै आयोगले विज्ञापन गर्न सक्ने मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति: आइतवार, अशोज २८, २०७५ /Sunday, October 14th, 2018, 8:41 am