दशैंको खर्च बचाएर पूँजीबजारमा लगानी, घटेको बजारबाट मुनाफा लिने उपयुक्त समय

काठमाडौं, असोज २८ । अहिले चाडपर्वमा अनावश्यक खर्च गर्ने प्रचलन बढेको छ । यस्तो खर्चलाई कम गरेर पूँजी बजारमा लगानी गरेमा भविष्यमा राम्रो प्रतिफल पाउन सकिन्छ । पछिल्लो समयमा दशैंको बिदा अरु चार्डपर्वको तुलनामा बढी हुने भएकाले नयाँ नयाँ ठाउँमा घुम्ने प्रचलन आएको छ ।

नेपालीहरुको महान पर्व भएकाले पनि नेपालीले दशैंलाई अलि विशेष तरिकाले मनाउँछन् । मनाउनु पनि पर्छ । तर, पर्व मनाउनुको साथसाथै दशैंमा गरिने खर्चलाई कम गरेर शेयर बजारमा लगानी गरेर छोटो समयमानै राम्रो प्रतिफल पनि पाउन सकिन्छ । साथै दशैंमा जम्मा हुने दक्षिणाले पनि शेयर बजारमा लगानी गरेर मुनाफा आर्जन गर्न सकिन्छ ।

केहि वर्षको तुलनामा अहिले चाडपर्व मनाउने चलन फरक हुंदै आएको छ । पहिला–पहिला दशैंको बेलामा नयाँ लुगा किन्ने र टिका तथा आशिर्वादका लागि आफन्तकोमा जाने चलन थियो । तर, अहिले चाडपर्व फरक फरक किसिमले हसाबले मनाउने गरेको पाइन्छ । विदेशमा रहेका नेपालीहरु पनि दशैं मनाउन बिदा मिलाएर घर आउने गर्दथे । तर, अहिले नेपालीहरुले विदेशमै दशैंलाई विविध तरिकाले मनाउने गरेको पाइन्छ । स्वदेशमा रहेका नेपालीहरुले पनि नयाँ नयाँ ठाउँ घुमेर पर्वलाई मनाउने गरेका छन् ।

दशैंको दक्षिणा शेयरमा
दशैंमा आफूभन्दा ठूला मान्यजनले टिका र जमरा लगाउँदै दक्षिण दिने चलन रहेको छ । दशैंमा जम्मा भएको रकम र आफूसँग भएको दशैं खर्च जोगाएर कुनै राम्रो कम्पनीको शेयरमा लगानी गरियो भने भविष्यमा त्यसले राम्रो प्रतिफल दिन्छ । जम्मा भएको रकमले दोस्रो बजारको महङ्गो शेयर त किन्न नसकिएला तर आइपिओ, म्युचुअल फण्डहरुमा भने लगानी गर्न सकिन्छ । हाल बजार घटेर १ हजार २ सय १८ देखि २५ विन्दुको हाराहारीमा आइपुगेको अवस्था छ । यस्तो अवस्थामा वाणिज्य बैङ्कहरुको शेयर मूल्य रू। २ सय देखि २ सय ५० सम्म पर्ने कम्पनीहरुको शेयर खरीद गर्न सकिन्छ । पूँजीबजारमा आवद्ध भएका लगानीकर्ताले दशैंको अवसर पारेर आफ्नो छोरा छोरीको नाममा भविष्यको लागि शेयर उपहार दिने प्रचलन आएको छ ।

हालसम्म कुनै पनि वाणिज्य बैङ्कहरुले लाभांश घोषणा नगरेकाले र बजार निकै तल भएकाले राम्रा कम्पनीको सस्तोमा शेयर किन्न पाइन्छ । दशैंको खर्च जोगाएर र दक्षिणाले किनेको शेयर भोलीका दिनमा लाभांश पाउँदा र दोस्रो बजारमा मूल्य बढ्दै गएपछि सोचेकोभन्दा पनि बढी नाफा पाउन सकिन्छ । आर्थिक अभियानबाट

प्रकाशित मिति: आइतवार, अशोज २८, २०७५ /Sunday, October 14th, 2018, 6:04 am