गुर्जा हिमाल आरोहण गर्न गएका ९ जनाको मृत्यु

म्याग्दी, असोज २७ । गुर्जा हिमाल आरोहरणमा गएको टोली हिमपहिरोमा परेको छ । ५ जना कोरियन र ४ जना नेपालीसहितको ९ जनाको टोली हिमपहिरोमा परेको हो ।

७ हजार १९३ मिटर उचाईको गुर्जा हिमाल आरोहणमा गएका दक्षिण कोरियाका नागरिक किम चङ होको नेतृत्वमा गएको आरोहण टोली हावाहुरीसँगै आएको हिमपहिरोमा परेको स्थानीय सोम छन्त्यालले जानकारी दिएका छन् ।

शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर अवतरण गर्न नसकेर फर्किएको छ । पोखराबाट गएको टोलीले ८ वटा शव देखेको बताइएको छ । हिमाल आरोहणका लागि गएको टोलीलाई एक्कासी हावाहुरीले टेन्टसँगै उडाएको बताइएको छ ।

इन्सपेक्टर लोकबहादुर गुरुङका अनुसार एकजनाको शव भेटिएको छ । शवको पहिचान हुन सकेको छैन । गुर्ज हिमाल चढ्नका लागि आरोहण टोली गुर्ज गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्ज गाउँकै बासिन्दा थिए । हिमपहिरोमा पर्नेमा गुर्जाका २६ वर्षिय नेत्रबहादुर छन्त्याल समेत छन् ।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 11:47 am