अबदेखि सबै श्रमिकले सञ्चयकोष र उपदान पाउने, वार्षिक विदा पनि तय

काठमाडौं, असोज २७ । सरकारले अबदेखि सबै क्षेत्रका श्रमिक, मजदुरलाई अनिवार्य सञ्चयकोष र उपदानको व्यवस्था दिनुपर्ने व्यवस्था गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐनअनुसार नेपाली बजारमा काम गर्ने सबै मजदुरलाई पुसदेखि उक्त व्यवस्था कार्यान्वयन गर्न अनिवार्य व्यवस्था गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम ऐन, २०७४’ को दफा ५८ अनुसार श्रमिक आपूर्तिकर्तामार्फत श्रमिकलाई अनिवार्य सञ्चयकोष र उपदानको दायरामा ल्याउन बताएको हो ।

उक्त व्यवस्था अनुसार नेपालमा सञ्चालनमा रहेका उद्योग कलकारखाना र निर्माण क्षेत्रमा कार्यरत श्रमिकका लागि आगामी पुस ७ गतेदेखि यो व्यवस्था लागू गरिने छ । अब रोजगारदाता कम्पनीले श्रमिकसँग गरेको सम्झौता अनुसार सबैलाई अनिवार्य सञ्चयकोष र उपदान लागू हुनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेका अनुसार सरकारले सवै क्षेत्रका कामदारलाई सञ्चयकोष र उपदान दिने व्यवस्था मिलाइएको बताए ।

यो व्यवस्थामा सुरक्षा सेवाअन्तर्गत काम गर्ने सुरक्षाकर्मी, सहकारी सेवाअन्तर्गत काम गर्ने सबै प्रकारका सरसफाई तथा फोहोर व्यवस्थापनमा खटिने श्रमिकहरु पर्नेछन् ।

यस्तै बगैंचा व्यवस्थापन गर्ने मालीलगायत कृषि श्रमिक, कार्यालय सहायक, क्यान्टिन तथा क्याटरिङ श्रमिकले पनि अबदेखि उपदान र सञ्चयकोष सुविधा पाउनेछन् ।

यस्तै चालक, सहचालक, लोड अनलोडको ओसारपसार तथा भण्डारण व्यवस्थापन गर्ने श्रमिक, मर्मत सम्भार, प्राविधिक सहयोग तथा परामर्श प्रदान गर्ने श्रमिक, प्लम्बर, इलेक्ट्रिसियन, डकर्मी, सिकर्मीलगायतका निर्माण श्रमिक पनि उक्त सुविधाबाट लाभान्वित हुनेछन् ।

साथै हाउसमेड, केयरगिभर लगायतका घरेलु श्रमिकले पनि अन्य श्रमिक सरह सञ्चयकोष र उपदानको सुविधा पाउनेछन् ।

सरकारले तोकेको न्यूनतम पारिश्रमिकबाट १० प्रतिशत रकम कट्टा गरी सो रकममा रोजगारदाता कम्पनीले शतप्रतिशत रकम थप गरी सञ्चयकोषवापतको रकम जम्मा गर्नुपर्नेछ।

अबदेखि श्रमिकले काम गरेको अवधिको २० दिनको एक दिनका दरले पारिश्रमिक सहितको घर बिदा र वार्षिक १२ दिन पारिश्रमिक सहितको बिरामी बिदा पाउने छन्। ओभरटाइम, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा तथा प्रचलित कानुनबमोजिम बहन गर्नुपर्ने अन्य दायित्वसमेत पूरा हुनेगरी सम्झौता गर्नुपर्ने छ।

प्रकाशित मिति: शनिबार, अशोज २७, २०७५ /Saturday, October 13th, 2018, 10:54 am