आँखुखोला जलविद्युतको आईपीओमा कति आवेदन पर्यो ?

काठमाडौं, असोज २६ । आँखुखोला जलविद्युत कम्पनीको आइपीओमा करिब ५८ करोड रुपैयाँको आवेदन परेको छ ।

८२ हजार ५ सय भन्दा बढी आवेदकले ५८ करोड रुपैयाँको सेयर विक्री प्रबन्धकले बताएको छ । आवेदन दिने म्याद शुक्रबार नै सकिएको छ ।

आईपीओ असोज २३ गतेदेखि निष्काशन गरेको थियो । जलविद्युत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यसमध्ये २७ हजार ५२० कित्ता कम्पनीका कर्मचारी र ६८ हजार ८०१ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सामूहिक लगानी कोषलाई छुट्याइएको ६८ हजार ८०१ कित्ता भने बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ । आँखुखोलाले यसअघि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई निष्कासन गर्दा बिक्री नभएको १ लाख ७६ हजार २० कित्ता समेत जोडेर आइपीओ निष्कासन गर्न लागेको हो । जलविद्यूत कम्पनीले धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बिक्री खुला गर्दा ६ लाख २३ हजार ९८० कित्ता सेयरमा मात्र आवेदन परेको थियो ।

यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । असोज २६ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने कात्तिक ६ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केटलाई नियुक्ति गरेको छ ।

धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

आइपीओ बिक्रीपछि चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसअघि आँखुखोलाले गत साउन १७ गतेदेखि भदौ १५ गतेसम्म धादिङ जिल्लाबासीका लागि ८ लाख कित्ता आइपीओ बेचेको थियो । पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत आइपीओ बिक्री गरिएको थियो ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पनि आँखुखोलाको आइपीओलाई ग्रेड ५ रेटिङ दिएको छ । कम्पनीले आँखुखोलाको पानीबाट ८।४ मेगावाट जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७० साल भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो । कम्पनीको विद्युत उत्पादन केन्द्र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको छ । रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा छ ।

शेयर निष्कासन पछि यसको पूँजी संरचना ६० करोड संस्थापक शेयरधनीको, ८ करोड आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीको र १२ करोड रुपैयाँ सर्वसाधारणको शेयर हुने छ । यो आयोजना चालू आवमा १ करोड ५४ लाख नाफामा जाने अनुमान गरिएको छ । गत वर्ष २ करोड ४३ लाख घाटा रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०७५ /Friday, October 12th, 2018, 7:03 pm