पार्टी एकता भएपछि ऐतिहासिक भएको प्रचण्डको उदघोष (फोटोफिचरसहित)

ललितपुर, असोज २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

नेकपा ललितपुरले दशैँ, तिहार तथा छठका उपलक्ष्यमा शुभकामना दिन ललितपुरको जाउलाखेलमा आयोजना गरेको कार्यक्रममा उनले दुई पार्टीबीच एकता भएपछि नेकपा बलियो भएको र यस अवधिमा धेरै ऐतिहासिक काम भएको चर्चा गरे ।

उनले जनताको हितमा काम गर्न आफू र प्रधानमन्त्रीबीच पटकपटक समीक्षा भएको जानकारी दिए । अर्को प्रसङ्गमा काठमाडौँको सबै बाटा केही महिनामा कालोपत्रे भइसक्ने र यसका लागि सरकार लागि रहेको उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले नेपाल र भारतबीच बाटो र बाँधको समस्या समाधान गर्न दुवै देशका प्रतिनिधि थलोमा गएर काम गर्ने समझदारी भएको बताए ।

शुभकामना कार्यक्रममा आफूले जनयुद्धको बेलामा ललितपुरकै कुम्भेश्वरमा बसेर विभिन्न योजना बुनेको स्मरण गर्दै ललितपुर जिल्ला कम्प्युनिष्टहरुको उर्बर भूमि भएको बताए । अध्यक्ष दाहालले यसको अनुकरण अरु जिल्लाले समेत दिनु पर्ने औल्याए ।

नेकपाका केन्द्रीय सदस्य सुशीला नेपालले नेपालको विकासका लागि कम्युनिष्ट पार्टी सफल हुनुपर्ने धारणा राखे ।

त्यसैगरी नेकपा ललितपुरका अध्यक्ष हरिकृष्ण ब्यन्जनकारले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले सजग हुनुपर्ने बताए ।

कार्यक्रममा ललितपुरका प्रतिनिधि सभा सदस्यहरु तथा प्रदेश सभा सांसदहरुको समेत उपस्थति रहेको थियो ।

कार्यक्रम नेकपाका केन्द्रीय सदस्य हरि दाहाल ललितले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०७५ /Friday, October 12th, 2018, 6:40 pm