विश्वकप क्रिकेट छनोटको उपाधि नेपाललाई

काठमाडौं, असोज २६ । मलेसियामा सम्पन्न टी–२० विश्वकप एसियाली छनोटअन्तर्गत पूर्व क्षेत्रको प्रतियोगिता नेपालले जितेको छ।

अन्तिम खेल शुक्रबार सिंगापुरसँग वर्षाका कारण अंक बाड्नु परेपनि नेपाल नेटरनरेटको आधारमा शीर्षस्थानमा रहन सफल भयो ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाको कारण रोकिएको थियो । वर्षाले खेल रोकिदा नेपालले पहिलो ओभरको ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । नेपालका अनिल साह सुन्य रनमा आउट भएका थिए ।

त्यसपछि वर्षाको कारण खेल भएन । अम्पायरले नेपाल र सिंगापुरबीचको खेल रद्द भएको घोषणा गरेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १–१ अंक पाएका छन् ।

पहिला ब्याटिङ गरेको सिंगापुरले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ८१ रनमात्र जोड्न सक्यो। सिंगापुरलाई सस्तोमा समेट्न सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । सोमपाल कामी र करण केसीले दुई दुई विकेट हात पारे। ६० रनमा केवल दुई विकेट गुमाएको सिंगापुरले त्यसपछि २१ रनको अन्तरमा अलआउट भएको हो ।

प्रतियोगितामा दुवै टोलीले अघिल्ला सबै पाँच खेल जितेका थिए । अब नेपालले एसियाली छनोट खेल्ने छ । एसियाली छनोटमा ६ टोली रहनेछन् । त्यहाँबाट शीर्ष दुई टोलीले विश्वस्तरको छनोटमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०७५ /Friday, October 12th, 2018, 6:02 pm