६ वर्षपछि सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, असोज २६ ।

६ वर्षपछि सुनको मुल्यमा नयाँ रेकर्ड बनेको छ । शुक्रबार सुन ६ वर्ष यताकै महंगो भएको हो । केहीसमयदेखि लगातार बढिरहेको सुनको मूल्य आज तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको मूल्य तोलाको ६३ हजार ३ सय पुगेको थियो ।
त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

*६ वर्ष हुनुपर्नेमा अन्यथा भएकोले क्षमाप्रार्थी सहित सच्याइएको छ -सम्पादक

प्रकाशित मिति: शुक्रबार, अशोज २६, २०७५ /Friday, October 12th, 2018, 12:17 pm