६० हजार शिक्षक थप्न यसरी हुँदैछ काम

काठमाडौं, असोज २२ । सरकारले मुलुकभर आवश्यक रहेको ६० हजार शिक्षक थप गर्ने कार्य अगाडि बढाएको छ ।
देशभरका सामुदायिक विद्यालयमा आवश्यक शिक्षकको दरबन्दी पदपुर्ती गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी अघि बढाएको हो । देशभरका विद्यालयमा आवश्यक शिक्षक दरबन्दी अपुग भएका स्थानमा थप गर्नका लागि दरबन्दी पुनवितरण कार्यदलले दिएको सुझाव प्रतिवेदन लागू गराउन मन्त्रालयले तयारी तीव्र पारेको हो ।
मन्त्रालयका अनुसार केही दिनभित्रै विज्ञापन प्रकाशन गर्ने तयारी भएको छ । दशैँ, तिहार, छठ लगायतका चाड आइसकेकाले त्यो पछि वा बीचमा कहिले प्रकाशन गर्ने भन्ने बारेमा छलफल चलिरहेको छ ।
विद्यालय, शिक्षक र विद्यार्थी सङ्ख्याका आधारमा अपुग शिक्षक पदपुर्ती गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयलाई निर्देशन दिएपछि मन्त्रालयले तयारी तीव्र पारेको हो ।
हालै मात्र खुला १२ हजार ७०० शिक्षक पूर्ति गर्न शिक्षक सेवा आयोगले लिखित परीक्षा लिइसकेको छ । अन्य थप शिक्षकका लागि आयोगले छिट्टै विज्ञापन प्रकाशन गर्ने तयारी थालेको हो ।
प्रारम्भिक बालविकासका ३३ हजार सहजकर्तालाई पनि प्राथमिक तहको दरबन्दीमा ल्याउने तयारी भएको छ ।

मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक दरबन्दी अपुगको समस्या र दरबन्दी मिलान मिलाउन प्रक्रिया अघि बढेको बताए । उनका अनुसार दरबन्दी थपगर्ने विषय सङ्घीय सरकारले निर्णय गरी स्थानीय तहलाई शिक्षक पठाउने जानकारी दिए ।

नेपाल सरकारका पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा गत असार ४ गते गठित नौ सदस्यीय कार्यदलले यही असोज २ गते प्रधानमन्त्री ओलीलाई प्रतिवेदन दिएको थियो ।

प्रकाशित मिति: सोमवार, अशोज २२, २०७५ /Monday, October 8th, 2018, 9:21 pm