६० हजार शिक्षक थप्दै सरकार

काठमाडौं, असोज १० ।
सरकारले देशभर ६० हजार शिक्षक थप गर्ने तयारी गरेको छ । स्थानीय तहमा सबै तहमा ६० हजार शिक्षक आवश्यक रहेको शिक्षा मन्त्रालयले जनाए पछि सरकार त्यसको तयारीमा जुटेको हो । यसअघि देशका ७५३ स्थानीय तह मातहत रहेका सरकारी विद्यालयमा ६० हजार शिक्षक दरबन्दी थप गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रतिवेदन बुझाएको थियो ।
मन्त्रालयले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलले दिएको सुझाव अनुसार ६० हजार शिक्षक दरबन्दी थप गरे शिक्षक अभावको समस्या हल हुने औल्याइएको छ ।

पूर्वसचिव महाश्रम शर्मा संयोजक रहेको सुझाव समितिले केहीदिनअघि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

हाल देशका विभिन्न स्थानमा अस्थायी, राहत, नीजि स्रोत र स्थायी गरी शिक्षकहरुले काम गरिहेका छन् । कतिपय शून्य विद्यार्थी भएका विद्यालयमा शिक्षक रहेका छन् भने कतिपय विद्यार्थी भएका तर, स्थायी शिक्षक नरहेका विद्यालय पनि छन् ।

कार्यदलले बुझाएको प्रतिवेदन असोज १२ गते सार्वजानिक हुने भएको छ ।

सरकारी विद्यालयमा आधारभूत तहमा शिक्षक अभाव छ। कक्षा १ देखि ८ सम्म २७ हजार हाराहारीमा शिक्षक दरबन्दी अपुग छ भने कक्षा ९ र १० पढाउन २१ हजार हाराहारी दरबन्दी थप गर्नुपर्ने देखिएको हो। कक्षा ११ र १२ लाई पनि माध्यमिक तहमा राखिएकोले चार हजार हाराहारी शिक्षक अपुग छ। देशभर १ लाख ५० हजार स्थायी दरबन्दीमा शिक्षक छन्।
कार्यदलको सुझावका आधारमा अबदेखि हिमालमा ३०, पहाडमा ३५ र तराईमा ४० जना विद्यार्थी बराबर एक जना स्थायी शिक्षक दरबन्दी राख्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, अशोज १०, २०७५ /Wednesday, September 26th, 2018, 8:24 am