चाडपर्वमा हुने कालोबजारी रोक्न सरकारलाई सरोकार समितिको निर्देशन

काठमाडौं,आश्विन ६ ।
चाडपर्व नजिकिएसँगै बजारमा सिर्जना हुने कृत्रिम अभाव र कालोबजारी रोक्न सरकारलाई राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले निर्देशन दिएको छ । सिंहदरबारमा शुत्रबार बसेको समिति बैठकमा गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चाडपर्वको समयमा बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुने गरेको भन्दै रोक्न समितिले निर्देशन दिएको हो ।

यस्तै देशभर शान्ति सुव्यवस्था कायम गर्न पनि समितिले गृह मन्त्रालयलाई भनेको छ । समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चाडपर्वको अवसरमा यात्रुहरुको चाप अत्यधिक हुने भएकाले यात्रुलाई सहज ढंगले आवागमनको व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । समितिको अर्को बैठक असोज ११ गतेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 8:04 am