बैंकको ऋण नतिर्नेले अब पासपोर्ट नपाउने

काठमाडौं, असोज ६ ।
राहदानीलाई व्यवस्थित गर्न बनेको कानुनी मस्यौदाले बैकिङ कसुर गर्नेले राहदानी पासपोर्ट नपाउने व्यवस्था हुन लागेको छ । यो मस्यौदाले कानुनी रुप पाएमा उद्योगी व्यवसायीदेखि बैकिङ कसूरमा परेका अन्यले पनि राहदानी पाउने छैनन् ।

कुनै कारणवश बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न नसकेर कालोसूचीमा परेका व्यक्तिले राहदानी नपाउने व्यवस्था हुन लागेको हो ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार राहदानी जारी गर्न तथा यो प्रक्रियालाई सरल र सहज बनाइ व्यवस्थित तथा नियमित गर्न परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले राहदानी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्ने विधेयक संसद्मा दर्ता गराएका हुन् ।

अहिले करिब ६ हजार व्यक्ति बैकिङ कसूरका कारण कालोसूचीमा परेका छन् । यस विषयमा राष्ट्र बैंक, नेपाल बैंकर्स एसोसियसन, उद्योग वाणिज्य संघ लगायत सरोकारवालासँग छलफल गर्नुपर्ने आधार आउन थालेका छन् ।
पहिला कुनै पनि कसुरमा सजाय पाए पनि अदालतबाट सफाइ पाएमा वा कानुनबमोजिम सजाय भुक्तान गरेमा त्यस्ता व्यक्तिको नाममा भने राहदानी जारी गर्न सकिने विधेयकमा उल्लेख छ । राहदानी ऐन २०२४ लाई खारेज गर्ने गरी ल्याइएको नयाँ विधयेकले यस्तो व्यवस्था उल्लेख गरिएको छ ।

राहदानी विधयेकमा राहदानी तथा अध्यागमन सम्बन्धी कसुरमा कानुनबमोजिम मुद्दा चलिरहेको गैरनेपाली नागरिक वा अदालतबाट कसुरदार ठहर भई सजाय भोगिरहेका, भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेका व्यक्तिलाई पनि राहदानी जारी नगरिने व्यवस्था हुन लागेको छ ।

त्यसरीनै मानव बेचबिखन, अपहरण, लागूऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध, आतंकवादसम्बन्धी कसुरमा मुद्दा चलिरहेको वा अदालतबाट कसुरदार ठहर भइ सजाय भोगिरहेको व्यक्तिले पनि राहदानी नपाउने व्यवस्था हुन लागेको छ । कसुर गरेर विशेष भाग्ने र सजाय नभोग्य प्रवृत्तिलाई रोक्न यस्तो व्यवस्था गर्न लागिएको हो ।

प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 7:44 am