कहिले हुने भयो कालिका पावरको आईपीओ बाँडफाँट ?

काठमाडों, असोज ६ । कालिका पावर कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) अर्को हप्ताभित्र बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले अहिले नै मिति तय नभएपनि अर्को हप्ताभित्र बाँडफाँट हुन सक्ने सम्भावना रहेको जानकारी दिएको हो । अहिले प्राप्त आवेदनहरु पुनः परीक्षण गर्ने कार्य भईरहेको विक्री प्रबन्धको भनाइ छ ।

यस आईपीओमा १ लाख २२ हजार ५ सय आवेदकबाट ८३ लाख २५ हजार कित्ताको लागि आवेदन परेको छ । कम्पनीले भदौ २८ देखि असोज १ गतेसम्म १२ लाख कित्ता साधारण शेयर निष्कासन गरेको थियो । यस आईपीओमा करीब ७ गुणा बढी आवेदन परेको छ । तोके भन्दा बढी आवेदन परेकाले बाँडफाँट प्रक्रिया गोलाप्रथाबाट हुनेछ ।

आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्म नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

कम्पनीले कुल १२ लाख कित्तामध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गर्नेछ । हाल रू। ४८ करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ बाँडफाँट पश्चात रू। ६० करोड पुग्नेछ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू। ६३ करोड चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको छ ।

यस आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको बुझाउँछ । कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका तत्कालीन मुच्चोक तथा सौरपानी गाविसहरु विच भएर बहने दरौदी खोलाबाट ६ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७३ मङ्सिर १२ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गर्न शुरु गरेको छ । कम्पनीबाट उत्पादन गरिएको सबै विद्युत शक्ति एकमुष्ठ नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मन्जुर गरी कम्पनी र प्राधिकरणविच २०६८ साल भदौ १९ गते नै विक्री सम्झौता गरिसकेको छ । आर्थिक अभियानबाट

प्रकाशित मिति: शनिबार, अशोज ६, २०७५ /Saturday, September 22nd, 2018, 5:53 am