टिकाभैरब–घुसेल सडक शिलान्यास

ललितपुर, असोज २ । गोदावरी नगरपालिका–९ टिकाभैरबदेखि बागमती गाउँपालिका–१ घुसेलसम्मको बाटो आज गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन र बागमती गाउँपालिका अध्यक्ष बीरवहादुर लोप्चनबाट संयुक्त रुपमा शिलान्यास भएको छ ।

टिकाभैरबवाट शुरु हुने सो बाटो ११ किलोमिटरसम्म कालोपत्रे हुने भएको छ भने बाटोको चौडाई ६.२५ मिटर रहेको छ । उक्त बाटो निर्माणका लागि रु.२२ करोड ९९ लाख ७३ हजार ३१२ रुपैयाँ १२ पैसामा बोलपत्र आह्वान भई ठेकेदार सपना/पि. आर. जेभी कम्पनीसँग सम्झौता भईसकेको जनाएको छ ।

साँघुरो कच्ची अवस्थामा रहेको सो बाटोलाई सम्झौता बमोजिम विस २०७६ असोज २८ गतेसम्म फराकिलो बनाई कालोपत्रे समेत गरी सम्पन्न गरिने योजना रहेको छ । बाटो निर्माण कार्यमा बाटोको दायाँ बायाँ पर्ने घरको मुआब्जा समेत दिइने बताइएको छ ।

सो अवसरमा गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले विकास निर्माण कार्य नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए । ‘जनप्रतिनिधि भनेकै जनचाहना अनुरुप काम गर्ने हो’– उनले भने ।

समृद्ध नगर निर्माणमा सिङ्गो नगरपालिका, स्थानीयवासी, बुद्धिजीवि, नागरिक समाज, सरोकारवालालगायतको भूमिका सकारात्मक रहनुपर्नेमा उनको जोड रहेको थियो । उहाँले सो बाटो निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन समेत दिए ।

बागमती गाउँपालिका प्रमुख बीरवहादुर लोप्चनले बाटो निर्माण कार्य गुणस्तरीय हुनु पर्नेमा जोड दिए । बाटो निर्माण कार्यमा कहीँकतैबाट अवरोध नगरी सहज रुपमा काम अगाडी बढाउन सहयोग गर्न स्थानीयवासीलाई आग्रह समेत गरे ।

प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५ /Tuesday, September 18th, 2018, 5:25 pm