निर्माण क्षेत्रमा आमूल सुधार गर्नेछु- हुमनाथ कोइराला अध्यक्षका उम्मेदवार (भिडियो)

हुमनाथ कोइराला, कांग्रेस निकट लोकतान्त्रिक निर्माण व्यावसायी संघका अध्यक्ष हुन् । आसन्न निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कोइराला विकोई विल्डर्स प्रालिका प्रबन्ध निर्देशक पनि हुन् । अघिल्लो पटक शरद गौचनलाई अध्यक्ष बनाउन आफ्नो उम्मेदारी फिर्ता लिएका कोइराला यो पटक भने अध्यक्षमा जित्ने उम्मेदवार रहेको बताइरहेका छन् ।

निर्माण क्षेत्रमा रहेका समस्यालाई प्राथमिकता निर्धारण गरेर समाधान गर्नुपर्ने बताउने कोइराला निर्माणको जिम्मा दिँदा व्यवसायीको वर्गीकरण गराउनुपर्ने अडानमा रहेका देखिन्छन् । सरकारले ठेक्का दिँदाको नियम परिवर्तन गर्नुपर्ने, खरिद ऐन संशोधन गर्नुपर्ने लगायतका व्यवसायीमैत्री माग राखेर आफू चुनावमा होमिएको उनी बताउँछन् ।

निर्माणको ठेक्का लिएर काम गर्न नसक्नुको कारण संस्थाको हैसियत र क्षमता अध्ययन नगर्नाको परिणाम हो भन्ने कोइराला अध्यक्ष पदमा विजय भए दुई वर्षभित्र नकारात्मक समाचार आउनुपर्ने अबस्थाको अन्त्य गर्ने दाबी गर्छन । चुनावकै लागि भनेर कोइालाले ३२ बुँदे मार्गचित्र सार्वजनिक गरेका छन् । सरकारलाई सबैभन्दा उत्कृष्ट काम गरेर देखाउन सक्ने क्षमता आफूमा रहेको जिकिर गर्दै कोइरालाले यसअघि महासंघमा भएका नेतृत्वहरुमा भिजनको कमी रहेको बताउँछन् ।

एमाले–माओवादी केन्द्र एकताबाट बनेको नेपाल निर्माण व्यवसायी संगठनका साझा उम्मेदवार यक्षध्वज कार्की आफ्नो गुरु भएको कोइरालाले बताए । ‘निर्माण क्षेत्रको गुरु नै उहाँ हो’, कोइरालाले भने –‘यो पटक चेलालाई गुरु ( वाईडी दाईले )ले सहयोग गर्नुहुनेछ’ । निर्माण व्यवसायीको असोज ४, ५ र ६ गते हुने महाधिवेशनमा अध्यक्षका उम्मेदवार हुमनाथ कोइरालासँग दैनिकीन्यूजले गरेको कुराकानी

प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५ /Tuesday, September 18th, 2018, 5:19 pm