कति आवेदन पर्यो कालिका पावरको आईपीओमा ?

काठमाडौं, असोज २ । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा करीब ७ गुणा बढी आवेदन परेको छ । छिटोमा असोज १ र ढिलोमा २८ गतेसम्मका लागि १२ लाख कित्ता शेयर निष्कासन गरेको कम्पनीले छिटो अवधिमै तोकेभन्दा बढी आवेदन परेकाले विक्री बन्द गरेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार सोमवारसम्ममा १ लाख २१ हजार आवेदकले ८३ लाख २५ हजार कित्ता शेयर खरीदका लागि आवेदन दिएका छन् ।

यस आईपीओमा तोकेभन्दा बढी आवेदन परेकाले बाँडफाँट प्रकृया गोलाप्रथाबाट हुनेछ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ६ हजार कित्तासम्म नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाका लागि अनुमति पाएका सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था रहेको थियो । विक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले कुल १२ लाख कित्तामध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी ११ लाख १६ हजार कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गर्नेछ । हाल रू। ४८ करोड चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ बाँडफाँट पश्चात रू। ६० करोड पुग्नेछ । चालू आर्थिक वर्षभित्र कम्पनीले रू। ६३ करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ ।

यस आईपीओलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको बुझाउँछ । कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिका तत्कालीन मुच्चोक तथा सौरपानी गाविसहरु विच भएर बहने दरौदी खोलाबाट ६ हजार किलोवाट क्षमताको जलविद्युत उत्पादन गर्ने उदेश्य अनुरुप २०७३ मङ्सिर १२ गतेदेखि विद्युतको व्यापारिक उत्पादन गर्न शुरु गरेको छ । कम्पनीबाट उत्पादन गरिएको सबै विद्युत शक्ति एकमुष्ठ नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मन्जुर गरी कम्पनी र प्राधिकरणविच २०६८ साल भदौ १९ गतेनै विक्री सम्झौता गरिसकेको छ । आर्थिक अभियानबाट

प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५ /Tuesday, September 18th, 2018, 8:09 am