निर्मला हत्या प्रकरणः डीअार्इजी धिरु बस्नेतको नेतृत्वमा ‘शक्तिशाली’ छानबिन समिति गठन

काठमाडौँ, भदौ ३१ । नेपाल प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानमा रहेका प्रहरीको छानवीनका लागि डिआइजीको नेतृत्वमा नयाँ समिति गठन गरेको छ । यसअघि भदौ १४ गते एसएसपी उत्तम कुमार सुवेदीको नेतृत्वमा गठन गरिएको समितिलाई परिमार्जन गरेर डिआइजी धिरु बस्न्यातको नेतृत्वको नयाँ टोली आज गठन गरिएको हो । डिआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीमा बढुवा भएका थिए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले डिआइजीको नेतृत्वको नयाँ समितिले निर्मला हत्याकाण्डको अनुसन्धानमा संलग्न प्रहरीको छानवीन गर्ने जानकारी दिए ।

यसअघि गठन गरिएको समिति पनि नयाँ गठिन समितिमा रहने उनले स्पष्ट परे । टोलीमा बस्न्यातसँगै एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना रहेका छन् । गृह मन्त्रालयले अनुसन्धानमा संलग्न ५ जना प्रहरी अधिकृतलाई हिजैदेखि निलम्बन गरेको छ । आज गठित नयाँ समितिले निलम्बनमा परेका र अन्य प्रहरीलाई काठमाडौं झिकाएर बयान लिने र अध्ययन गर्ने प्रवक्ता थापाले बताए ।

निर्मलाको बलात्कारपछि हत्या भएको ५३ दिन बितिसक्दा पनि बास्तविक दोषी पक्राउ गर्न प्रहरी असफल भएको छ । सोही कारण सरकारको संसदभित्र र बाहिर समेत आलोचना हुन थालेको छ ।

यसैबीच उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्र पोख्रेलले निर्मला पन्तको हत्यारा उम्कन नपाउने बताएका छन् । सञ्चारिक समूहको २२ औं वार्षिकउत्सव कार्यक्रममा बोल्दै रक्षामन्त्री पोखरेलले निर्मला हत्याका अपराधी पहिचान नभएकाले कारवाही गर्न ढिलाई भएको स्वीकार गरे । उनले संरचनागत र कानुनी जटिलताका कारण कारवाही प्रक्रियामा ढिलाई भएपनि हत्यारा पक्राउ गरेर कानुनी कारवाही गर्ने प्रतिवद्धता पनि जनाए ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 6:26 pm