गोदावरी नगरपालिकामा कोही पनि बालबालिका विद्यालय बाहिर नरहेको

ललितपुर, भदौ ३१ । गोदावरी नगरपालिकामा ५ वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकाहरु विद्यालय बाहिर नरहेको घोषणा आइतबार गरेको छ । आइतबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उक्त कुराको घोषणा गरेका हुन् । उनले कोही बालबालिका विद्यालय बाहिर रहे गोदावरी नगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताए । “तपाई हामी जिम्मेबार बन्यौ भने गोदावरी नगरपालिका देशकै नमुनाको रुपमा स्थापित गर्न सक्नेछौं” उनले भने । उनले भने, “राम्रो गर्ने विद्यालयलाई नगरपालिकाले सम्मान समेत गर्नेछ ।”

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले राज्यको नीति अनुसार नै विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गरेको बताइन । उनले भनिन, “यसलाई अब सार्थक दिन विद्यालय, शिक्षक, संघ÷संस्था, स्थानीय बासिन्दाको सहयोगको खाँचो छ ।”

उक्त कार्यक्रममा पूर्व न्यायधिश सम्भु बहादुर कार्कीले आफ्नो बाल्यकालको पढाई स्मरण गर्दै ५० वर्षपछि आफ्नो सपना पूरा भएकोमा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद जैसी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १३ मा अध्यक्ष भास्कर थापा लगायतका वक्ताहरुले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।

उक्त अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

शिक्षा विभागले वैशाखदेखि प्रारम्भ हुने नयाँ शैक्षिक शत्रमा विद्यालय तहका कोही पनि बालबालिका विद्यालय बाहिर नरहने घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन थियो ।

विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क संकलन एवं घरदैलो कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गरी आफ्नो क्षेत्र, जिल्ला गाउँपालिका र नगरपालिका विद्यालय तहका बालबालिका विद्यालय भन्दा बाहिर नरहेको घोषणा गर्न सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई निर्देशन गरेको थियो ।

नयाँ शैक्षिक शत्र प्रारम्भ भएसँगै विभागले विद्यार्थी भर्ना, विद्यार्थी स्वागत तथा टिकाउ र सिकाइ उपलब्धीका सुधार कार्यक्रमलाई सफल पार्न सरोकारवाला सबैमा आग्रह गरेको थियो । विद्यार्थी भर्नाको दोस्रो चरण जेठ २० गते अनुसार सबै स्थानीय निकायले भदौ मसान्त भित्र बालबालिकाहरु विद्यालय क्षेत्र बाहिर नरहेको घोषणा गर्न समेत आग्रह गरेको थियो । सोही अनुसार गोदावरी नगरपालिकाले आइतबार घोषणा गरेको हो । यसअघि ललितपुरका महांकाल, बागमती र कोन्ज्योसोम गाउँपालिकाले घोषणा गरिसकेका छन् भने ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले घोषणा गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 2:12 pm