नेप्सेले नियम मिचेको भन्दै युनिलिभर नेपाललाई गर्यो कारोबार स्थगन

काठमाडौं, भदौ ३१ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले युनिलिभर नेपालको कारोबार स्थगन गरेको छ। कम्पनीले गत बिहीबार लाभांश घोषणा गरेको थियो।

कम्पनीको भदौ १२ गते बसेको संचालक समिति बैठकले लाभांश प्रस्तावको निर्णय गरेकोमा उक्त निर्णय भदौ २८ गते मात्र नेप्सेलाई अवगत गराइएको थियो।

नेप्सेले कारोबार स्थगन गर्दै कम्पनीलाई २४ घण्टे स्पष्टिकरण समेत सोधेको छ।

धितोपत्रहरुको बजार मूल्यलाई प्रभाव पार्ने सूचनाहरु तत्काल उपलब्ध गराउनु पर्ने नियमको कम्पनीले उल्लंघन गरेकोले कारोबार स्थगन गर्दै स्पष्टीकरण सोधिएको नेप्सेले जनाएको छ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड (ङ) बमोजिम कारवाही किन नगर्ने ? भन्दै पत्र प्राप्त भएको २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले भनेको छ।

युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट प्रति शेयर ७०० रुपैयाँ नगद लाभांश घोषणा गरेको थियो।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 12:24 pm