उपराष्ट्रपति ६ दिने चीन भ्रमणमा जाँने

काठमाडौं, भाद्र ३१ । आगामी असोज ३ मा उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गर्ने भएका छन् । सिंचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तरराष्ट्रिय मेला’मा सहभागी हुन ६ दिने भ्रमणका लागि चीन जान लागेका हुन । असोज ४ गते अन्तरराष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्ने भएका छन् । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म चल्ने छ । चीन भ्रमणको क्रममा उनले चीन सरकारका उच्च पदाधिकारी, चिनियाँ कम्युनिस्ट पार्टी सिपिसीका सिंचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने छन् ।

उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएपछि यो उनको पहिलो भ्रमण हो। पहिलो कार्यकालमा उनले दुईपटक चीन भ्रमण गरिसकेका छन्।

अन्तरराष्ट्रिय मेलाका अवसरमा उपराष्ट्रपतिले उनले असोज ५ गते छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य, चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, उपराष्ट्रपतिका स्वकीय सचिवा लगायत छन्।
भ्रमण टोलीमा करिब १५ जना सहभागी हुनेछन्।

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 8:36 am