नागढुंगा सुरुङमार्ग बनाउन ३५ कम्पनी इच्छुक

काठमाडौं, भदौ ३१ । नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले निर्माण गर्न लागिएको नागढुंगा सुरुङ मार्गको निर्माणका लागि सडक विभागले एक महिनाअघि ग्लोबल टेन्डर आह्वान गरिसकेको छ ।

अगस्ट १० मा आह्वान भएको टेन्डरको अवधि अक्टोबर १० सम्म तोकिएको छ । टेन्डर आह्वान भएको १ महिनामा मात्रै ३५ निर्माण कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ ।

इच्छा देखाएका ३५ निर्माण कम्पनीमध्ये २० वटा मात्रै चिनियाँ कम्पनी रहेको विभागका इन्जिनियर छविलाल पौडेलले बताए । ‘ग्लोबल टेन्डर आह्वान भएको आधा अवधिसम्म यति धेरैले इच्छा देखाएको छ कि चिनियाँ कम्पनी मात्रै २० वटा छन्’ –उनले भने ।

उनका अनुसार चाइनिज २०, नेपाली १०, जापानी ३, भारतीय १ र टर्कीको १ निर्माण कम्पनीले सुरुङ मार्ग बनाउने इच्छा गरेको छ । विभागले फागुनदेखि निर्माण चरणमै जान निर्माण कम्पनी छनोट र सम्झौता गर्ने जनाएको छ ।

विभागले अहिले जग्गा अधिग्रहण र मुअब्जा वितरणको कामलाई तीव्रता दिएको छ । विभागले धादिङतर्फ १ सय ९ रोपनी र काठमाडौंतर्फ २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्दछ । काठमाडौंतर्फ मुआब्जा वितरण सुरु भइसके पनि धादिङतर्फ भने अहिलेसम्म मुआब्जा निर्धारणसमेत हुन सकेको छैन ।

पहुँचमार्गका लागि काठमाडौं साविकका महादेवस्थान, दहचोक, बलम्बु र थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ भने धादिङतर्फ सिस्नेखोलादेखि खत्रीगाउँसम्मका जग्गा अधिग्रहण गर्नुपर्ने विभागले जनाएको छ ।

त्रिभुवन राजमार्गको बलम्बुदेखि उत्तरतिर लागेर त्रिवेणी घाट हुँदै सुरुङको पूर्वपट्टिको मार्ग तोटीपाखासम्म २ दशमलव ३ किलोमिटर प्रवेश मार्गका लागि दायाँबायाँ २५/२५ मिटर भाग अधिग्रहणको प्रक्रिया सुरु भइसकेको छ । त्यसमा विभागले तीन लेनको सडक तयार निर्माण गर्नेछ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: आइतवार, भदौ ३१, २०७५ /Sunday, September 16th, 2018, 7:10 am