भारतलाई २-१ गोलले हराउँदै माल्दिभ्स बन्यो साफ च्याम्पियन

काठमाडौं, भाद्र ३० । भारतलाई २-१ गोलले हराउँदै माल्दिभ्सले १२ औं संस्करणको साफ च्याम्पियन्स फुटबल उपाधि जितेको छ ।

शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको फाइनलमा साबिकको उपविजेता भारतलाई २-१ ले हराएर माल्दिभ्सले उपाधि जितेको हो ।

माल्दिभ्सलाई जित दिलाउन इब्राहिम महुधी र अली फसिरले समान एक एक गोल गरे । भारतका सुमित पसाईले एक गोल फर्काए ।

माल्दिभ्सले दुवै हाफमा एक एक गोल गरेको हो । खेलको १९ औं मिनेटमा महुधीले गोल गर्दै माल्दिभ्सलाई सुरुवाती अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा फसिरले गोल गर्दै माल्दिभ्सलाई २-० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा भारतका सुमितले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन ।

योसंगै माल्दिभ्सले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । साफको सेमिफाइनलमा माल्दिभ्सले नेपाललाई ३-० ले हराएर फाइनल यात्रा तय गरेको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५ /Saturday, September 15th, 2018, 10:14 pm