सेवा सुविधा नदिए बैठक नचलाउने कर्मचारीको चेतावनी

काठमाडौं, भदौ ३० । संघीय संसद् सचिवालयका कर्मचारीहरुले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको हो । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुका गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो । त्यसबापत उनीहरुले बिहानको साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।

शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपियाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ पछि यो सुविधा कटौती गरिएको छ ।

कर्मचारीले त्यसपछि १ सय २० प्रतिशत थप सुविधा मागेका थिए भने सचिवालयले ८० प्रतिशत सुबिधा थप गरिदिएको थियो । असार अन्तिमसम्म तलब बाहेक थप ८० प्रतिशत सुविधा पाइरहेका कर्मचारीलाई काम लगाएर पनि अहिले सुविधा नदिएपछि उनीहरु आक्रोशित भएका छन् । उनीहरुले अत्यावश्यक सेवा र जुनसुकै बेलामा पनि काम गर्नुपर्ने भएकाले अन्य कार्यालयको जस्तै सेवा सुविधा बढाउनु पर्ने भन्दै आवाज उठाउदै आएका छन् ।

संघीय संसद् सचिवालय कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र महतले कार्यालय समयमा मात्र काम गर्नुपरे कुनै सुविधा नमागिने तर अतिरिक्त समयमा काल लगाउने हो भने तलबमा मात्रै काम गर्न नसकिने बताउनुभयो । ‘हामीले आफ्नो दायित्व पूरा गर्दैनौं भनेका छैनौं, दिनरात निःसर्त रुपमा काम गरेका छौं तर कामको मूल्यांकन नगरेकोमा दुःख लागेको छ’, महतले भने– ‘सँगै काम गर्नेको चाहिँ थप सेवा सुविधा हुन्छ, उनीहरुले जे पनि अधिकार पाउँछन् भने हामीले न्यूनतम सेवा सुविधा थप माग्दा गलत गरेका छौं भन्ने लाग्दैन ।’

महतले धेरैजसो कर्मचारी टाढा बस्ने भएकाले बिहान बेलुका समितिका बैठक चलाउँदा पैसा नभए भोकै बस्नुपर्ने वाध्यता रहेको बताए । महतले आफ्नो व्यक्तिगत जीवन नभनी दिनरात सचिवालयकै काम गरे पनि मूल्यांकन नभएकोमा आपत्ति जनाए । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५ /Saturday, September 15th, 2018, 6:51 am