कार्यदललाई थाहै छैन एकताको नाम केन्द्रमा सिफारिस, समानान्तर कमिटि बनाउन गोप्य भेला !

ललितपुर, भाद्र १८ । कार्यदलमा रहेका सदस्यलाई सुइकै नदिई माओवादी केन्द्र र एमालेबीचको व्यावसायिक संगठनको एकता प्रतिवेदन केन्द्रमा पेश गरिएको तथ्य फेला परेको छ ।

माओवादी निकट राष्ट्रिय उद्योग व्यापार महासंघ र एमाले निकट उद्योग तथा व्यवसायी महासंघबीचमा एकता प्रक्रिया चलेपनि केही विषय मिलाउन नसक्दा निर्णय भएको थिएन । तर, केन्द्रमा दुई व्यावसायिक संगठनको एकता भएको प्रतिवेदन पेश गरिएको छ, जबकि कार्यदलमा माओवादी केन्द्र निकटको व्यापार महासंघ र एमालेको व्यावसायिक महासंघबाट रहेका ४/४ जनालाई यस विषयमा कुनै जानकारी दिइएको छैन ।

एमालेका एक नेताले दैनिकीन्यूजसँग भने– ‘दुई व्यावसायिक संगठनका कसैसँग परामर्श नगरी केही नेताले केन्द्रमा नाम सिफारिस गरेको कुरा हामीलाई मान्य छैन ।’ कार्यदलको इन्चार्जमा नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्ट र मुकुन्द न्यौपाने रहेका थिए ।

स्रोतका अनुसार दुई महासंघको स्थानीय, प्रदेश र केन्द्रमा रहने संख्या, नाम र विधानका्े टुङ्गो लागेपनि त्यसको नेतृत्व, सचिवालय र कार्यालयको विषयमा अहिलेसम्म सहमति भएको छैन । ‘संगठनमा रहेका नेताहरुले कोसँग छलफल गरेर एकता प्रतिवेदन बुझाएका हुन्, हामीलाई जानकारी नै दिइएको छैन, दुई संगठन मिल्नका लागि सबै संरचनाको प्याकेजमा सहमति हुनुपर्ने हो त्यो पनि नभई के आधारमा नाम सिफारिस गरियो हामी छक्क परेका छौं,’ महासंघका अर्का एक सदस्यले भने ।

केही दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई एकता प्रतिवेदन बुझाइएपछि दुबै महासंघले असन्तुष्टि जनाइरहेका छन् । त्यसअघि इन्चार्ज रहेका कुल प्रसाद केसीको ठाउँमा साउन १२ गतेदेखि माओवादी केन्द्रले लेखराज भट्टलाई ल्याएपछि संगठनभित्र कुनै छलफल, भेला नभएको केही व्यवसायीले आरोप लगाए । ‘दुई जना इन्चार्जले कार्यदललाई समेत सुइकै नदिई कसरी एकता प्रक्रिया सकिएको नाम सिफारिस गरेका हुन्, एकता नै गर्ने संगठनकै मानिसलाई जानकारी नदिई कस्तो संगठन निर्माण गर्न खोजिएको रहेछ ? हामीले बुझेनौ’, ती असन्तुष्ट नेताले दैनिकी न्यूजसँग भने, ‘व्यावसायिक महासँघको एकता नै दुर्भाग्यपूर्ण हुने खतरा बढ्यो ।’

समानान्तर महासंघ बनाउन भेला
इन्चार्जहरुले एकलौटी रुपमा नाम सिफारिस गरेपछि दुईटै संगठनका असन्तुष्ट समूहले समानान्तर कमिटि बनाउने तयारी गरेका छन् । आइतबार र सोमबार बागबजारमा रहेको होटेल हार्दिकमा बसेको भेलाले छुट्टै व्यावसायिक महासंघ गठन गरेर जाने निष्कर्ष निकालेको हो ।

जेठ ३ गते पार्टी एकता गरेका माओवादी केन्द्र र एमालेको बीचमा जिल्लामा समेत एकता हुन सकेको छैन । प्देश नम्बर १, २, ४ र ५ मा एकता विषयमा तीव्र विवाद देखिएको छ भने एकता सकिएको भनेर नाम सिफारिस भएका प्रदेश नम्बर ३, ६ र ७ मा पनि नामका विषयमा विवाद बढेर अर्कै नाम केन्द्रमा पेश भएको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १८, २०७५ /Monday, September 3rd, 2018, 10:36 pm