मदन दाइको ग्रिन सिग्नल पर्खिरहेको छु– महर्जन

मीनकृष्ण महर्जन, नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । कांगेसभित्र उनी युवा नेताको रुपमा चिनिन्छन् । ललितपुर जिल्लामा पछिल्लो समय राजनीतिमा केन्द्रीत रहेका उनी प्रदेश सभाको चुनावमा ललितपुर क्षेत्र नम्बर १ ख बाट पराजित भएका थिए ।

कांग्रेसमा रहेको अन्तर्घात, आन्तरिक गुटबन्दीले पार्टीलाई कमजोर बनाएको उनको निष्कर्ष छ तर, अब त्यही कुरा उठाएर मात्रै कांग्रेसको संगठन दह्रो नबन्ने उनी स्वीकार गर्छन । पछिल्लोदिन पार्टीभित्र बर्चस्व बढाउँदै लगेको ठानिएका उनै महर्जनसँग दैनिकीन्यूजले गरेको कुराकानी

कांग्रेसका नेताहरुको दौडधुप खुब हुन थालेको छ, चुनाव आउँदै छ र ?
चुनाव भन्दा पनि हाम्रो अबको डेढवर्षभित्र महाधिवेशन गर्नुपर्ने छ, त्यसकै लागि नेताहरुले आन्तरिक बैठक, भेटघाट गरेका हुन् । फेरि स्थानीय, प्रदेश र केन्द्र चुनावका बेला पार्टीलाई हराउन भूमिका खेल्ने, असहयोग गर्ने र अन्तर्घात गर्ने नेताहरुलाई कारवाही गरेर नयाँ ढंगले संगठन बिस्तार गर्न पनि दौडधुप भएको हो ।

अन्तर्घात, असहयोगले मात्रै चुनाव हारेको भन्ने कुरालाई अझै पत्याउन सकिन्छ र भन्या ?
हाम्रो नेताहरुको कार्यशैलीका कारण पनि हारेका हौं तर, अन्तर्घात असहयोग नै बढी भयो । कुन होटेलमा बसेर कस कसलाई हराउने भनेर योजना बनाए भन्ने कुरा हामीसँग प्रमाण नै छ, पार्टीले खोजेको बेलामा देखाउन सक्छौं । पार्टीकै नेतृत्वमा रहेका व्यक्तिहरुले असहयोग गरेका छन् । ललितपुरको तीन नम्बर क्षेत्रमा बढी देखिएको थियो त्यस्तो असहयोग । पर्चा नै छापेर फालानो नेतालाई सहयोग गर्नुहुँदैन भन्नेदेखि फोन गरेर भोट नहाल समेत भनेका तथ्य हामीसँग छ ।

तर, जनताको लागि काम नगरेको, कार्यकर्तालाई संरक्षण नगरेको, भेट्न गयो भने अपमान गरेको भनेर स्वयं कांग्रेसकै कतिपयले बताइरहेका थिए, त्यसलाई सम्बोधन नगरेपछि अहिले अन्तर्घात भयो भनेर कसले पत्याउँछ ?
कतिपय नेताहरुको स्वभावका कारणले केही कार्यकर्ता रुष्ट भएपनि कांग्रेसको मत यसरी घट्नुको एउटै कारण भनेको पार्टीभित्रको आन्तरिक खिचातानी नै हो । एकले अर्कालाई असहयोग गर्ने, सकाउन लागि पर्ने, पैसा खर्च गरेर जसरी पनि हराउन पर्छ भन्दै विभिन्न हत्कण्डा अपनाउने काम भएका छन् । तपाईले भनेको जस्तो हाम्रा केही उम्मेदवार साथीहरुमा जनता र कार्यकर्तासँग भिज्ने शैली नै छैन । काम गरिदिनुपर्छ, भेट्नुपर्छ माग सम्बोधन गर्नुपर्छ भन्ने नै नभएको कारण एक नम्बर क्षेत्रमा सबैभन्दा कमजोर बन्दै गएका हौं । तर, क्षेत्र नम्बर तीनमा त मदन दाई (मदन अमात्य) उहाँजस्तो जनता र कार्यकर्ताका लागि मरिमेट्ने नेतालाई हराउन ठूलो समूह नै लाग्यो हाम्रै पार्टीबाट यसलाई सामान्य लिनुहुँदैन । अहिलेपनि मत चै हाम्रो बढी तर, हामी नै पराजय ? यसको कारण खोतलेर हामीले अनुशासन आयोगमा अन्तर्घात गर्नेलाई कारवाही सिफारिस गरेका छौं । जितेन्द्र मलेगु, कबेलबहादुर लामा, रामकृष्ण चित्रकार लगायत कारवाही नगरी पार्टी सुध्रिदैन ।

यसरी कारवाही गरेर जाँदा आगामी महाधिवेशमा असर गर्ला नी ?
अघिल्लो महाधिवेशमा पनि म, मदन दाई र जितेन्द्र मलेगु उठेकै हो, त्यो बेला पहिलो चुनावमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो अनि मैले जितेन्द्रलाई सहयोग गरिदिएको थिए । अहिले जितेन्द्र पैसाको उन्मादमा पार्टी सकाउने गतिविधिमा लागे । रामकृष्ण चित्रकारहरु पार्टीभन्दा आफ्नै स्वार्थतिर लागेका छन्, त्यही भएर नयाँ ढंगले जानु पर्छ । असर भन्दा पनि तीव्र प्रतिस्पर्धा चै हुन्छ संगठन जसको मजबुत छ उसैले जित्छ ।कांग्रेसको तेहौ महाधिवेशनमा पार्टी सभापतिमा बन्नको लागि केही व्यक्तिले २ करोडसम्म खर्च गरे तर सफल हुन सकेन । अब हुने १४ औं महाधिवेशनमा ४ करोड खर्च गरे पनि ती व्यक्तिहरुे पार्टी सभापति हत्याउन सक्दैन ।

भनेपछि पार्टीभित्र आन्तरिक लडाँइ जारी छ ?
जारी छ । महाधिवेशन सुरु हुन डेढ वर्ष वाँकी छ अहिलेदेखि नै गुट उपगुट बनाएर हिड्न सुरु भइसकेको छ । अझ पैसा खर्च गर्न थालिसके । नेताहरुको आशिर्वाद थाप्न चाकडी गर्नेहरु पनि छन् । हिजो पार्टीलाई चुनावको बेलामा असहयोग गर्नेहरु अहिले पद हत्याउन मरिमेटेर लागेका छन् ।

त्यसो भए, तपार्इँको दौडधुप पनि जिल्ला सभापति बन्नैको लागि हो ?
अब म अघिल्लो पटकको महाधिवेशनको पनि उम्मेदवार भएकोले रहर त हुने नै भयो तर, जिल्ला सभापति मदनदाइले जे भन्नुहुन्छ त्यही गर्छु । उहाँले ग्रिन सिग्नल दिनुभयो भने उठ्छु, पार्टीलाई सांगठनिक रुपमा अघि बढाउन मसँग केही कला पनि छ, कार्यकर्ता पनि जिल्लाभर छन् । यदी मदन दाईले अहिले नो भन्नुभयो भने व्याक हुन्छु । तर, मेरो उम्मेदवारीको विषयमा मदन दाईसँग सल्लाह गरेर मात्रै निर्णय गर्छु ।

अनि अहिलेसम्म मदन अमात्यले कस्तो रेस्पोन्स गर्नुभएको छ त ?
केन्द्र चुनावमा सहयोग गरेका आधारमा उहाँ मसँग खुशी नै भएको पाएको छु । अर्काे कुरा कार्यकर्ताहरुको परिचालन मेरो राम्रो छ भनेर भन्नुहुन्छ । उहाँसँग सल्लाह नगरी यसैभन्न सकिन्न । म पनि एक्लै निर्णय गर्दिन । म सबैलाई मिलाएर लैजान्छु गुट बनाउँदिन ।

तपाई त हिजो (कोइराला खेमामा) हुनुहुन्थ्यो होइन ? कहिलेबाट क्याम्प चेन्ज गर्नुभयो ?
म विगतमा कोइराला परिवारसँग नजिक थिए । मदन दाई शेरबहादुर देउवा खेमामा हुनुहुन्थ्यो । तर, म खुमबहादुर खड्काको कार्यकर्ता पनि थिएँ, उहाँको कार्यकर्ता संरक्षण गर्ने कामले म खड्कासँग प्रभावित थिए अनि खड्कापनि देउवा पक्षको भएपछि अघिल्लो महाधिवेशबाट देउवालाई मत दिएर यता जोडिए । अनि सभापतिलाई सफल गराउनुपर्छ भनेर मरेर लागिएको छ ।

भनेपछि ललितपुर जिल्लामा संस्थापन (देउवा) खेमा र पौडेल खेमाको तीव्र प्रतिस्पर्धा हुन्छ ?
प्रतिस्पर्धा मात्रै होइन चुनाव नै हुन्छ नी । अहिलेकै अबस्थामा रामचन्द्र पौडेल दाई पक्ष र संस्थापन शेरबहादुर देउवा पक्षका बीचमा जिल्ला सभापतिमा सहमति हुने अबस्था देखिदैन । कारवाही गर्नुपर्नेहरुलाई कारवाही गर्ने/नगर्ने विवाद हुनसक्छ अनि त सहमति हुँदैन । फेरि मेरो विरुद्धमा पनि त लाग्नेहरु छन् नी । फेरि हाम्रो जिल्लामा पहिला गाविस हुँदा क्षेत्र नम्बर एक शक्तिशाली थियो अहिले क्षेत्र नम्बर तीन शक्तिशाली छ सबैभन्दा भोटर त्यहाँका छन् । फेरि म त महासमिति सदस्य पनि भए ।

तपाईलाई त नेता भन्दा पनि ‘डन’कै रुपमा बढी चिन्छन होला है ?
(हास्दै) केहीले त्यसरी त भन्दैनन तर, पहलमान चै भन्ने गर्छन । यसो भनेर मेरो २०४६ सालदेखिको राजनीतिक करिअर विर्सने पनि छन् । १३ औ महाधिवेशनमा सबैभन्दा बढी भोट ल्याएर महाधिवेशन प्रतिनिधि जित्ने व्यक्ति मै हुँ नी । अहिले सांगठनिक रुपमा कुनै नेताले भनेको कुरा कार्यकर्ताले मान्दैनन् तर, मैले भनेको जिल्लाभर मान्छन् । आरोप लगाएर मेरो राजनीतिलाई सकाउन पाएर आफ्नो हालीमुहाली गर्न पाइन्छ भनेर बदनाम गराउन खोज्ने हाम्रो पार्टीमा धेरै छन् । तर, म पूर्णकालिन राजनीति गर्ने व्यक्ति हुँ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५ /Saturday, September 1st, 2018, 9:45 am