आइतबार रक्षाबन्धन, कुन कुन प्रदेशले दियो सार्वजनिक बिदा

काठमाडौं, भदौ ९ । आइतबार रक्षाबन्धन परेको छ । रक्षाबन्धको अवसरमा आइतबार २ र ७ नं. प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।

प्रदेश नं २ सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदाको दिएको छ । आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए । यसअघि प्रदेश सरकारले बिदा दिए पनि सङ्घीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए । प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ । मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।

त्यसैगरी प्रदेश नम्बर ७ को सरकारले भोलि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो । दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायूको कामनाको लागि मनाइने महान चाड रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिदा दिइएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले रक्षा बन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाओस् भनी प्रेस विज्ञप्ति जारी गर्दै शुमकामना दिएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०७५ /Saturday, August 25th, 2018, 7:58 pm