यस्ता छन् हकप्रद शेयर निष्काशन गर्ने कम्पनीहरु (सूचिसहित)

काठमाडौं, भदौ ५ । अहिले बजारमा ८ कम्पनीको विभिन्न अनुपातमा हकप्रद शेयर विक्री खुला छ । यी कम्पनीहरूले पूँजीवृद्धिको अभियानस्वरूप शेयर निष्काशन गरेका हुन् ।

यी हुन हकप्रद शेयर निष्काशन गर्ने कम्पनीहरुः
१.नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडः यस इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर साउन १ गते देखि बिक्री खुला भएको छ । कम्पनीले ९९ लाख ३६ हजार कित्ता साविकका सेयरधनीलाई निष्कासन गरेको हो । कम्पनीले चुक्ता पूँजी बढाउने योजना अनुरुप हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद शेयर विक्री प्रबन्धकको रुपमा एनआईबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । कम्पनीले निष्काशन गरेको हकप्रद शेयर भदौ १९ गतेभित्र आवेदन दिइ सक्नु पर्नेछ । हकप्रद सेयरमा लगानीकर्ताले एनआईबिएल एस क्यापिटलको कार्यालयहरु, लाजिम्पाट, लालदर्बार, लगनखेल, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बिरगंज , गोल्छाचोक विराटनगर तथा नेशनल लाइफको सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्ने छन् । त्यस्तै सी आश्वा सदस्य रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिने छ ।

२. नागवेली लघुवित्त वित्तीय संस्थाः यस लघुवित्त संस्थाको हकप्रद शेयर निष्कासन साउन ४ देखि भएको छ । कम्पनीले सतप्रतिशत प्रति शेयर एक सय अङ्कित दरको ७ लाख ६६ हजार ४ सय ६३ दशमलव १५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रदमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । इक्रा नेपालले यो हकप्रद लाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको देखाउँछ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले असार २१ गते बुक क्लोज गरेकाले असार २० गतेसम्म शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । हकप्रद शेयर खरीदका लागि कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सिआस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ ।

३. स्वरोजगार लघुवित्त वित्तीय संस्थाः यस संस्थाले साउन १३ गतेदेखि शतप्रतिशत हकप्रद बिक्री गरेको छ । कम्पनीले १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । यो हकप्रदमा भदौ १७ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गरेकोले असार २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । । स्वरोजगाको हकप्रद सेयरले इक्रा नेपालबाट ४ प्लस रेटिङ पाएको छ । बिक्री प्रबन्धक एनएबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका तिनकुने, टेकु, बसुन्धरा, कलंकी, लुभु, ठैब र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ ।

४. नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडः यस लघुवित्त संस्थाले साउन २७ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले १ः२.५ अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । यो हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनको लागि कम्पनीले साउन ७ गते बुक क्लोज गरेकोले साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ । । नयाँ नेपाल लघुवित्तको हकप्रद सेयरले इक्रा नेपालबाट ग्रेड ५ रेटिङ पाएको छ, जसले कमजोर आधारलाई जनाउँछ । बिक्री प्रबन्धक एनएबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका कलंकी, तीनकुने, टेकु, बसुन्धरा, लुभु, ठैब र सूर्य्विनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ । यसैगरी, देव विकास बैंक लिमिटेड धुलीखेल, गुडविल फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्स लिमिटेडका शाखा कार्यालयहरु कुपन्डोल, चावहिल र आश्वाबाट सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट हकप्रद भर्न पाउने व्यवस्था छ ।

५. सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडः यस फाइनान्सको भदौ १ गतेदेखि हकप्रद शेयर विक्री खुला भएको छ । कम्पनीले १ः१.६७ अनुपातमा एक सय अंकित मूल्यमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गरेको हो । यो हकप्रदमा आश्विन ४ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनको लागि कम्पनीले साउन २१ गते बुक क्लोज गरेकोले साउन २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन । शेयर निष्काशनको लागि काठमाडौं क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको छ । । सिटी एक्सप्रेसको हकप्रद सेयरले इक्रा नेपालबाट ग्रेड ५ रेटिङ पाएको छ, जसले कम्पनीको कमजोर आधार जनाउँछ । बिक्री प्रबन्धक काठमाडौं क्यापिटल, काठमाडौं, प्लाजा, सिटी एक्सप्रेस फाइनान्सको केन्द्रीय कार्यालय दरवारमार्ग, घण्टाघर र काठमाडौं उपत्यका बाहिर गाईघाट उदयपुर, विर्तामोड झापा शाखाबाट पनि आवेदन दिन सकिन्छ । आश्वाबाट पनि हकप्रद भर्न पाउने व्यवस्था छ ।

६. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडः बैकले भदौ ४ गते सोमबारदेखि हकप्रद शेयर विक्री खुला गरेको छ । बैंकले विक्री गरेको हकप्रद शेयर असोज ७ गतेसम्म भरिसक्नु पर्नेछ । बैंकले १०० बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गर्न लागेको हो । पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको एनसीसीले चुक्ता पुंजी ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएपनि हकप्रद निष्काशन पश्चात ७ अर्ब १ करोड चुक्ता पुंजी पुग्नेछ । बाँकी करिब १ अर्ब चुक्ता पुंजी पुर्याउन बैकले बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ । सनराइज क्यापिटललाई हकप्रद शेयर निष्काशन तथा विक्रीको रुपमा नियुक्ति गरेको छ ।

७. प्रोगेसिभ फाइनान्स लिमिटेडः फाइनान्सको भदौ ५ गतेदेखि हकप्रद शेयर विक्री खुला भएको छ । फाइनान्स कम्पनीले १ बराबर २ दशमलव ८१ को अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । असोज ८ गतेसम्म विक्रीमा रहने यस हकप्रद शेयरमा साउन २२ गतेसम्म शेयर स्वामित्व कायम रहेका सदस्यहरुले आवेदन दिन सक्नेछन् । फाइनान्सले विक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । हकप्रद निष्कासनका लागि फाइनान्स कम्पनीले असार ६ गते नेपाल धितोपत्र बोर्डको स्वीकृत पाएको थियो । हाल २१ करोड कम्पनीको चुक्तापूँजी रहेको यस कम्पनीको हकप्रद शेयर निष्कासन पछि पूँजी ८० करोड १ लाख पुग्नेछ ।

८. वेष्ट फाइनान्स् कम्पनी लिमिटेडः यस फाइनान्स कम्पनीले असार २५ गतेदेखि हकप्रद शेयर विक्री खुला गरेको हो । यस कम्पनीले १ः०.२५ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद शेयर विक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्ति गरेको छ । फाइनान्सले जेठ ३० गते बुक क्लोज गरेकोले जेठ २९ गतेसम्म शेयरस्वामित्व हुने शेयरधनीहरुले मात्र हकप्रद शेयर भर्न पाउनेछन् । यस कम्पनीको हकप्रद शेयर काठमाण्डौ उपत्यकाभित्र भदौ ११ गते र उपत्यकका बाहिर भदौ १२ गतेभित्र भरिसक्नुपर्ने छ ।

प्रकाशित मिति: मङ्लबार, भदौ ५, २०७५ /Tuesday, August 21st, 2018, 8:57 am