कारागारमा महिनावारी सचेतना कार्यक्रम

काठमाडौँ, साउन २७ । काठमाडौंको त्रिपुरेरश्वर स्थित केन्द्रिय कारागार जगन्नाथदेवालमा एक दिने महिनावारी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कैदीबन्दी महिलाहरुलाई महिनावारी भएको बेला सफाई र हेरचाह गर्न सहज होस् भनेर गान्धी इन्टरनेश्नल मिसनले सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा महिनावारी भएको बेला आउने समस्या र हेरचाह तथा सफाइबारे जानकारी दिएको थियो । कारागार भित्रको अब्यवस्थित र साधुरो कोठामा समुहमा बस्दा महिनावारी भएको वेला ध्यान नदिँदा रोगको संक्रमण हुन सक्ने भएकाले कैदीबन्दी महिलाहरुको लागि महिनावारी सचेतना कार्यक्रम गरिएको गान्धी मिसनकी स्वास्थ्य संयोजक डा. अंकिता अग्रवालले जानकारी दिइन् ।

महिनावरी महिलामा हुने नियमित प्रक्रिया भएपनि महिनावारीको बेला सफाइ र खानपानमा ध्यान नपु¥याउदा महिलाको स्वास्थ्यमा गम्भिर समस्या पर्नेदेखि बाँझोपन, क्यान्सर समेत हुन सक्ने डा. अग्रवालले बताइन । कार्यक्रममा कैदीबन्दी महिलाहरुले महिनावारी सम्बन्धी समस्याका विषयमा समेत जिज्ञासा राखेका थिए ।

सचेतना कार्यक्रममा ३ सय २२ कैदीबन्दी महिलाहरुलाई महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तथा हात धुने साबुन र सफाई सामग्री समेत वितरण गरिएको थियो ।

गान्धी इन्टरनेशनल मिसन नेपालले ‘स्वच्छ महिनावारी स्वस्थ नारी, स्वास्थ्य सुरक्षा साझा जिम्मेवारी’ भन्ने नारासहित ग्रामीण बस्तीहरुमा महिनावारी सचेतना कार्यक्रममा गर्दै आएको अभियानका निर्देशक उद्धबकुमार कार्कीले जानकारी दिए । महिनावारी सचेतना अभियानमा नेपाल आर्मी अस्पतालका डा. मनिसा चौहान, डा. ओमा सापकोटा, डा. स्मृति भट्ट लगाएतका चिकित्सकहरुको सहभागिता रहदै आएको छ ।

प्रकाशित मिति: आइतवार, साउन २७, २०७५ /Sunday, August 12th, 2018, 10:25 pm