नारायणी, राप्ती र रिउ नदीमा लाखौ पर्यटक ल्याउने प्रचण्डको घोषणा 

चितवन, साउन २६ ।

नेकपाका अध्यक्ष प्रचण्डले चितवनलाई जल पर्यटकको माध्यमबाट विकास गर्न सकिने बताएका छन् ।
उनले चितवनमा जल पर्यटनको विकासबाट वार्षिक लाखौं पर्यटक ल्याउन सकिने समेत बताए । नारायणी, राप्ती र रिउ नदी पर्यटकीय क्षेत्रको विकासका लागि उपयुक्त हुने उनकोे भनाइ छ ।

नेपालको विकासमा व्यवसायीलाई प्रोत्साहित गर्न चिनियाँ मोडल राम्रो हुने भन्दै देशको हितको लागि लगानी गर्ने व्यवसायीहरु चाहिएको उनले बताए । चितवन पर्यटन विकास समितिले शनिबार भरतपुरमा गरेको ‘चितवनको पर्यटन विकासमा स्थानीय सरकार तथा निजी क्षेत्रको भूमिका’ विषयक’ कार्यशालामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् ।

नेपालका व्यवसायीले दुवई र कतारमा पाँचतारे होटलमा लगानी गरिरहेको बताउँदै प्रचण्डले निजी क्षेत्रको पूँजीलाई नेपालमा नै लगानी गर्ने वातावरण बनाउनुपर्नै बताए ।

चितवनको विकासका लागि मुग्लिन नारायणगढको विकल्प खोजिएको उनले बताए । त्यसका लागि पृथ्वी राजमार्गको एक खण्डबाट शक्तिखोरमा सुरुङ निकालिन सकिने भन्दै सरकारले यस विषयमा अध्ययन गरिरहेको उनले बताए । बैकल्पिक सडक निर्माणपछि ठोरी केरुङ्ग हुलाकी मार्ग उत्तर दक्षिणको महत्वपूर्ण र छोटो बाटो हुनेछ ।

रेलमार्ग, जलमार्ग र हवाइमार्ग जति धेरै हुन्छ त्यती धेरै विकास हुने उनको भनाइ छ । चितवनम क्रिकेट मैदान, रंगशाला, सिटीहल, कभर्डहल, नारायणी र राप्ती रिङरोड पाईपलाईनमै रहेको र कार्यान्वयनतर्फ अघि बढेको बताउँदै अब विकास टाढा नरहेको उनले उल्लेख गरे ।

जिल्लाका सातवटा स्थानीय तहका प्रमुख एवम् प्रतिनिधिहरुले अमफ्नो क्षेत्रको पर्यटन विकासका बारेमा जानकारी गराएका थिए । पहाडदेखि समथर भुमी जताततै पर्यटनको सम्भावना रहेको भन्दै जनपतिनिधीले स्थानीय स्तरबाट मात्र यसको सम्भव नभएकोले केन्दीय सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए । कार्यक्रममा चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले जिल्लाको पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०७५ /Saturday, August 11th, 2018, 10:39 pm