कांग्रेस सचिव घिमिरेमाथि आक्रमणको प्रयास

ललितपुर, साउन ५ । नेपाली कांग्रेस ललितपुर जिल्लाका जिल्ला सचिव भिमसेन घिमिरेमाथि आक्रमणको प्रयास भएको छ । शनिबार दिउसो करिब १२ः३० बजेको समयमा माइतीघर मण्डलामा जितेन्द्र कुमार श्रेष्ठ मलेखुको नेतृत्वमा रहेका ज्योती थापा र सन्तोष खड्काले आक्रमणको प्रयास गरेको सचिव घिमिरेले दैनिकीन्युजलाई बताए ।

कारवाहीको सिफारिस विषयलाई लिएर उनीहरुले आफूमाथि आक्रमण गर्न खोजेको उनको आरोप छ । ज्योती थापा नेपाली कांग्रेसका क्रियाशिल सदस्य हुन् भने सन्तोष खड्का ललितपुर महानगरपालिका वडा नं. ४ का जनप्रतिनिधि हुन् ।

आफूमाथि आक्रमणको प्रयास भएकोले उनीहरुलाई कारवाहीको लागि आफूले ललितपुर जिल्ला पार्टीमा उजुरी दिने समेत सचिव घिमिरेले बताए । गत प्रदेश तथा संघ निर्वाचनमा पार्टीलाई सहयोग गरेको र विपक्षी पार्टीको उम्मेदवारलाई सहयोग गरेको आरोपमा उनलाई पार्टीले कारवाहीको लागि केन्द्रमा सिफारिस गरेको छ ।

घिमिरे आवेगमा आउने मान्छे भएको र आफूले हातपातको कुनै प्रयास नगरेको कांग्रेस नेता श्रेष्ठले बताए । उनले भने– ‘यसमा म र मेरा समूहका कोही पनि कार्यकर्ता संलग्न छैन ।’ ‘आफ्नो चरित्र झगडालु नभएको, उल्टो उनीहरु हामीमाथि आक्रमण गर्न आएको हो ।’ उनेले भने । आफूले विधिसम्मत रुपमा कांग्रेसको बैठक राखेको र सोही बैठकको निर्णय बमोजिम विरोध सभा कार्यक्रममा सहभागी भएको दैनिकीन्युजसँग बताए ।

यसैगरी शनिबार माइतीघर मण्डलामा भएको विरोध सभामा कांग्रेस ललितपुरको दुई समूह बनाएर भेला भएको कांग्रेसका एक नेताले बताए । उनका अनुसार मलेखु र अमात्य गुठले छुट्टा छुट्टै गुट बनाएर विरोध सभामा सहभागी भएका थिए ।

विरोध सभामा सहभागी भएका कांग्रेस सभापति मदन बहादुर अमात्य घाइते भएका छन् । उनको हाल सिभिल हस्पिटलमा उपचार भैरहेको कांग्रेस सचिव भिमसेन घिमिरेले बताए ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०७५ /Saturday, July 21st, 2018, 4:06 pm