दोस्रो वर्षको यात्रामा दैनिकीन्युज

दैनिकीन्यूज डटकम आजदेखि दोस्रो वर्षमा प्रवेश गरेको छ । लुकेका, लुकाइएका र लुकाउन खोजिएका विषयबस्तुलाई आम पाठकसमक्ष ल्याउने बाचा गर्दै हामीले पत्रकारितामा भिन्न आयाम थप्न यो न्यूज पोर्टलको सुरुवात गरेका थियौं ।

अहिलेको अनलाईनको भीडमा हामीले छुट्टै आदर्श स्थापित गरेका छौं, सोही कारण हाम्रो न्यूज पोर्टल अहिले राम्रैसँग ब्राउजिङ हुन्छ भन्ने कुरा तपाईहरु समक्ष राख्न पाउँदा हामी खुशी छौं ।

हामीले पत्रकारितामा आम मानिसका चासो, सरोकारलाई बढी प्राथमिकता दिएका छौं, राजनीतिक मात्रै समाचार हुन्छ भन्ने भ्रमलाई हामीले चिरेका छौं र दुरदराजमा हुने गरेका विकृति र विसङ्गतिको उजागर गरेका छौं, त्यसकारण हामी अहिले भन्ने थालेका छौं –‘हामी गाउँ र शहर जोड्छौं, सूचना र जानकारीबाट’ ।

त्यसरी गाउँ शहर जोड्दा हामीले हण्डर खेपेका छौं, हाम्रा पत्रकारमाथि दुव्र्यबहार, आक्रमणको प्रयास भएको छ तैपनि हामी विचलित भएका छैनौं हाम्रो यात्रा जारी छ । ललितपुरमा गाउँमा खेताला शिक्षक राखेको विषय होस् वा जनप्रतिनिधिकै प्रत्यक्ष संग्लनतामा बालुवा तस्करीदेखि प्राकृतिक स्रोत साधनको दोहन नै किन नहोस् हामीले समाचार बनाएका छौं ।

अहिले स्थिर सरकार बनेको छ, सरकारका काम कारवाहीहरु जनता मैत्री छ कि छैन ? हामी निरन्तर फलोअपमा रहेका छौं । सत्ताको धाक धम्की देखाएर भ्रष्टाचार गर्ने, गाउँमा लगेका विकासका योजना काम नगरी पचाउन खोज्नेहरुप्रति हामी अनुसन्धान पत्रकारिता गछौं, हामीलाई त्यसबापत आउने गाली पाच्य छ ।

संविधान अनुसार बनेका स्थानीय, प्रदेश र केन्द्र सरकारका कामहरुलाई चेक गर्नेपर्छ भन्ने हाम्रो मान्यता हो र पत्रकारिताको धर्म पनि हो । दुईतिहाई समर्थनसहित बनेको सरकारलाई स्वच्छाचारी हुँदैन भनेर हामी पटक पटक भन्नेछौं ।

दैनिक जनताका कामहरुलाई जोड्दै आवाज विहीनहरुको आवाज बन्ने प्रयासस्वरुप हामी आजको यो दिनसम्म आइपुगेका छौं, हामीलाई बिकाउका हेडिङ राख्नु छैन, छिनमै भिजिटरलाई द्विविधा उत्पन्न गर्ने समाचार पनि राख्नु छैन, बे्रकिङका नाममा हतारमा समाचार दिनु पनि छैन, तथ्य र प्रमाणसहित समाचार दिने हाम्रो हिजोदेखिको मान्यतालाई सधैँ पालना गर्नेछौं, समाजमा भ्रम पैदा गर्ने, राजनीतिक द्वेष उत्पन्न गर्ने समाचारलाई हाम्रो न्यूज रुमले स्वीकार गर्दैन ।

यो दुई वर्षको समयमा हामीले जे जतिगरेका छौं, आगामी दिनमा यसलाई थप परिस्कृत बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गर्दछौं । अन्त्यमा आजसम्म हामीलाई साथ दिएर, हाम्रा कन्टेन्टहरु पढेर सुझाव र सल्लाह दिनुहुने तपाईहरु सबैप्रति कृतज्ञ छौं, आजसम्म हामीलाई विज्ञापन दिने विज्ञापनदाता, आम पाठक सबैप्रति आभारी छौं ।

बदलिँदो सूचना प्रविधिको यो युगमा हामी पनि तपाईहरुको रुचिको विषयलाई पस्कदै लग्ने प्रण गर्दछौं । यो दुई वर्षसम्म आफ्नो अमूल्य समय दिने हाम्रा पाठक, कर्मचारी, पत्रकार सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौं ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५ /Friday, July 20th, 2018, 7:07 am