शिक्षक सेवा आयोग तयारी गर्ने केही टिप्स

देवीदत्त पौडेल/हरेक सफलताका पछाडि आत्मविश्वास, लगनशीलता र निरन्तरको अभ्यासको भूमिका महत्त्वपूर्ण हुन्छ । सफलताको ठूलो स्रोत नै अनुभव हो । यसका लागि महान वैज्ञानिक अल्बर्ट आइन्टाइनको भनाइ समय सान्दर्भिक हुन सक्छ –“हिजोबाट सिक, आजका लागि बाँच, भोलिका लागि आशा राख, सबैभन्दा ठूलो कुरा नजानेको विषयमा सोध्न कहिल्यै नहिच्किचाऊ ।”

विषयवस्तुको गहिरो अध्ययनले मात्र सफलता हात नपर्न सक्छ । त्यसका लागि अन्य प्रतियोगीभन्दा फरक र सिर्जनशील हुन जरुरी हुन्छ । अतः शिक्षा सेवा आयोगको परीक्षामा सफलता प्राप्त गर्न सघाउने तल उल्लिखित सुत्रहरूलाई जीवन व्यवहारमा कति र कसरी लागु गर्न सकिन्छ भन्ने विषय नै सबैका लागि मननीय हुन सक्छ ।

१. पाठ्यक्रममा केके विषयहरू छन् ? कुन विषय क्षेत्रबाट केकस्ता प्रश्नहरू सोधिन्छन् ? विषयवस्तुभित्र वस्तुगत र विषयगत प्रश्नहरू केकस्ता हुन सक्छन् ? यी प्रश्नका उत्तरको गहिराइसम्म पुग्नुपर्दछ ।

२. दिइएको विषयवस्तुसम्बन्धी धारणा स्पष्ट हुनुपर्छ । विषयवस्तुको अर्थ, परिभाषा, सुरुवात, परिवर्तन, आयाम आदिका बारेमा राम्रो ज्ञान हुन जरुरी हुन्छ ।

३. पाठ्यक्रमले तोकेको विषयवस्तुको क्षेत्र थाहा हुनुपर्छ । विषय क्षेत्रका पनि धेरै आयाम हुन सक्छन् ।

४. पाठ्यक्रममा दिइएका विषयको समय सन्दर्भअनुसारको अवस्था र वर्तमान इस्युका सम्बन्धमा जानकार भइरहनुपर्छ । विषयलाई मुलुकका सन्दर्भमा मात्र होइन, विश्व परिवेशलाई केन्द्रमा राखेर अध्ययन गर्नुपर्छ ।

५. आफूले पढिसकेका विषयवस्तुको समीक्षा गर्नुपर्छ । सैद्धान्तिक र व्यावहारिक पक्ष छुट्याउनुपर्छ । सम्भावनाका कुरा नियाल्नुपर्छ ।

६. पाठ्यक्रमका विषयवस्तुको सार थाहा पाउनुपर्छ र त्यसलाई निष्कर्षसम्म पु-याउनुपर्छ ।

७. पढ्न सुरु गर्दा नयाँ शैली अपनाउनुपर्छ । नयाँ सन्दर्भ र विधिबाट अगाडि बढ्नुपर्छ ।

८. रुटिङ बनाएर पढ्नुपर्छ । जटिल विषयलाई धेरै समय दिनुपर्छ । पाठ्यक्रमलाई ध्यानमा राखेर नोट तयार गर्नुपर्छ ।

९. साझा विषयलाई एकपटक अध्ययन गर्नुपर्छ भने मुख्य विषयलाई विशेष ध्यान दिनुपर्छ ।

१०. एउटा शीर्षकलाई अध्ययन गरिसकेपछि विषयवस्तुलाई समेटेर जानुपर्छ । सामान्य क्षेत्र र विशेष क्षेत्र छुट्याउनुपर्छ ।

११. वस्तुगत प्रश्नको तयारी गर्दा कुनै कुरा नछुटून्, कुनै कुरा नदोहोरियून् भन्ने सुत्र अपनाउनुपर्छ ।

१२. विषयगत प्रश्नको तयारी गर्दा विषयवस्तु, विषयप्रतिको धारणा, विषयवस्तुको सार, विषयवस्तुको क्षेत्र, विषयवस्तुको वर्तमान सन्दर्भ, विषयगत सन्दर्भमा कमेन्ट आदि कुरालाई विशेष ध्यान दिनुपर्छ ।

१३. छोटो वा लामो उत्तर लेख्दा उत्तरको संरचनालाई ख्याल गर्नुपर्छ ।

१४. लेखको सुरुवात जर्नालिस्टिक तरिकाबाट गर्नुपर्छ ।

१५. लेखन शैली र शुद्धतामा ध्यान दिनुपर्छ ।

१६. प्रतिस्पर्धात्मक परीक्षा भएकाले ढाँचा मिलाएर उत्तर लेख्नुपर्छ ।

१७. प्रश्नमा स्कोप लुकेको हुन्छ, समयले मागेको स्कोपअनुसारको उत्तर दिनुपर्छ ।

१८. पाठ्यक्रम, पाठ्यवस्तु, उद्देश्य, शैक्षिक सामग्री, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन, पाठयोजना, एकाइ योजना, वार्षिक कार्ययोजना, कक्षाकोठाको व्यवस्थापन आदि विषयमा अधिकतम ज्ञान हुनुपर्छ ।

१९. अङ्कभारका आधारमा उत्तरको आकार निर्धारण गर्नुपर्छ ।

२०. परीक्षार्थी सधैँ आशावादी, सकारात्मक र बौद्धिक हुनुपर्छ ।

२१. परीक्षाको तयारी गर्दा परीक्षाको शैली, नम्बर दिने तरिका बुझेर त्यसअनुसारको परीक्षाको रणनीति अपनाउनुपर्छ ।

२२. परीक्षाको पूर्व तयारी गर्दा होस् वा परीक्षा दिँदा होस् परिक्षार्थीले समयको व्यवस्थापन गर्न सक्नुपर्छ ।

कडा मिहिनेत गर्नुहोस् । आफूले आफैँलाई विश्वास गर्नुहोस् । समय भनेको जीवन हो, यसलाई कहिल्यै खेर नफाल्नुहोस् । तपाईँको सफलता सुनिश्चित छ ।

प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५ /Thursday, July 19th, 2018, 9:29 pm