ट्राफिक बत्ती मर्मत गर्दै महानगरपालिका

काठमाडौं, असार ३० । काठमाडौं महानगरपालिकाले जडान भएर पनि संञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो ।

कामपा भौतिक विकास विभाग प्रमुख रामबहादुर थापाले राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चावहिल, बागबजार चोक, रत्नपार्क, कालिमाटी, कोटेश्वर, तीनकुने, सिंहदरबारको ट्राफिक बत्ती मर्मत गरी सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले कामपा नगरपरिषद्ले बजेट पारित गरिसकेको जानकारी गराउँदै केही महिनाभित्र मर्मत गरी सञ्चालन गर्ने तयारी रहेको बताउनुभयो ।

कामपाले ट्राफिक लेन, जेब्रा क्रसिङ, डिभाइडर निर्माण र यात्रु प्रतीक्षालय निर्माण गर्ने भएको छ । कामपाले आगामी वर्ष ट्राफिक व्यवस्थापन गर्न ३ करोड रुपियाँ विनियोजन गरेको छ । बाटो विस्तार र मेलम्चीको पाइप बिच्छ्याउने क्रममा यात्रु प्रतीक्षालय भत्किएका थिए । भत्किएका र नयाँ पहिचना भएका स्थानमा यात्रु प्रतीक्षालय निर्माण गर्ने कामपाले जनाएको छ । कामपाले राजधानीका करिब आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय निर्माण गर्ने जनाएको छ । {नेपाल समाचारपत्रबाट}

प्रकाशित मिति: शनिबार, असार ३०, २०७५ /Saturday, July 14th, 2018, 6:40 am