पञ्चकन्या माई हाइड्रोलाई आईपीओ निष्काशन अनुमति

काठमाडौं, असार १० । पञ्चकन्या माई हाइड्रोपावरलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ ।
कम्पनीलाई वोर्डले ११ लाख कित्ता सर्वसाधारणलाई आईपीओ जारी गर्न बोर्डले अनुमति दिएको हो । हाइड्रोले गत जेठ ७ गते ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निबेदन दिएको थियो ।

सनराईज क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ । हाइड्रो कम्पनीले जारी गर्न लागेको शेयरलाई क्रेडिट रेटिङ ४ पाएको छ, जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर अवस्थामा रहेको बुझाउँछ ।

यसअघि गत माघ ५ गते देखि २३ गते सम्म आयोजना प्रभावित इलामका स्थानीय बासिन्दाको लागि हाइड्रोले ११ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । अहिले थप ११ लाख कित्ता शेयर सर्वसाधारको लागि निष्कासन गर्न लागेको हो ।

पञ्चकन्याको जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ छ । यसअघि जारी पुँजीको १० प्रतिशत नै सेयर इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६.१ मेगावाटको अपर माई ‘सी’ आयोजना निर्माणाधीन छ ।

प्रकाशित मिति: आइतवार, असार १०, २०७५ /Sunday, June 24th, 2018, 6:50 pm