ललितपुरमा सांसदले गरे लाखौं रकम दुरुपयोग, अमात्यको सबैभन्दा बढी, राणा र घिसिङ पनि मुछिए

जीवन अधिकारी/ललितपुर, असार ७ । ललितपुरका तत्कालिन सांसद मदन बहादुर अमात्य, योगन्द्र घिसिङ र उदय सम्शेर राणाले सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुरुपयोग गरेको भेटिएको छ ।

प्रत्यक्ष तर्फ निर्वाचित क्षेत्र नं. ३ का तत्कालिन सांसद मदन बहादुर अमात्य, क्षेत्र नं. १ का उदय सम्सेर राणा र समानुपातिक तर्फका तत्कालिन सांसद योगेन्द्र घिसिङको गरी जम्मा ३८ लाख ९६ हजार ९३ रुपैयाँ बराबर वेरुजु भेटिएको हो ।

सबैभन्दा बढी अमात्यको १४ लाख ५५ हजार १८०, घिसिङको १२ लाख ८० हजार ५ सय र राणाको ११ लाख ६० हजार ४१३ रुपैया बेरुजु छ ।

दैनिकी न्युजले फेला पारेको प्रतिवेदन अनुसार ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित मदन बहादुर अमात्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विनियोजित १४ लाख ५५ हजार १८० रुपैया दुरुपयोग गरेको भन्दै वेरुजु देखाइएको छ । अमात्यले नै सांसद बिकास कोषबाट बिनियोजन गरेको महालक्ष्मी मन्दिर निर्माणको ९ लाख ९६ हजार रकम पनि दुरुपयोग गरेर महालक्ष्मीस्थान नयाँ सत्तल निर्माणमा खर्च गरिएको छ । यस्तै गरी खोकनामा खाः पोखरी निर्माण गर्ने भनेर कार्यक्रम स्वीकृत गराएको बजेटले पोखरी बाहिर वाल मात्र लगाइएको छ । उक्त योजनाका लागि २ लाख ८५ हजार ६ सय ३९ रकम दुरुपयोग भएको लेखापरीक्षण कार्यालयको ठहर छ । अमात्यले नै युवा शसक्तिकरण लागि भनेर खर्च गरेको १ लाख ७२ हजार ९ सय ७५ को बिषय खुल्न नसकेको भन्दै बेरुजु देखाइएको छ ।

त्यस्तैगरी ललितपुरका तत्कालिन सांसद योगेन्द्र घिसिङको नाममा पनि १२ लाख ८० हजार ५ सय रकम दुरुपयोग गरेको लेखापरीक्षण गर्दा भेटिएको छ । दैनिकीन्युजले प्राप्त गरेको प्रतिवेदनमा शीर्षक एउटा राखेर अर्कै काममा रकम खर्च गरेको पाइएको हो । शिक्षकको पेशागत तालिम र तामाङ भाषा लिपि प्रशिक्षण तालिम भनेर बिनियोजन गरेको रकम भलिबल खेल तथा पुरस्कार बितरणमा खर्च गरिएको भन्दै उक्त रकम बेरुजु रहेको देखाइएको छ । ललितपुरमा तत्कालीन माओवादी कोटाबाट समानुपातिक सांसद बनेका घिसिङले उक्त कार्यक्रम नै नगरी १२ लाख ८० हजार ५ सय रकम दुरुपयोग गरेको देखिएको लेखापरीक्षणको प्रतिवेदनमा जनाइएको छ । घिसिङले बुझाएको खर्च विवरणमा भलिबल खेल र पुरस्कारमा खर्चेको देखाइएको छ, जुन नीति र नियम बिरुद्ध रहेको बताइएको छ ।

राणाले आफ्नो निर्वाचन क्षेत्रमा ११ लाख ६० हजार ४ सय १३ रुपैयाँ रकम दुरुपयोग गरेको भन्दै बेरुजु देखाइएको छ । ललितपुरको क्षेत्र नम्बर एकबाट २०७० मा प्रत्यक्ष निर्वाचत सांसद राणाले नियत बिपरित एउटा शीर्षकमा रकम बिनियोजन गरि अर्कै काम गरेको पनि भेटिएको छ । उनको आफ्नै क्षेत्रमा पर्ने बडिखेलमा सभाहल बनाउने भन्दै बिनियोजन गरिएको रकम ब्यापारिक भवन बनाउन खर्च गरिएको भेटिएपछि महालेखा परिक्षकको कार्यालयले बेरुजु देखाएको हो । उक्त सभाहल निर्माणका लागि ९ लाख ७० हजार रकम बिनियोजन गरेर स्वीकृत गराइएको थियो । तर सो रकमले सभाहल बनाउनुको साटो सटरसहितको ब्यापारिक भवन बनाउन लगाइएको छ । त्यस्तै राणाले महिला नेतृत्व विकास तालिममाका लागि भनेर खर्च गरेको १ लाख ९० हजार ४ सय १३ को बिषय खुल्न नसकेको भन्दै बेरुजु देखाइएको छ ।

सांसद कोषको रकम दुरुपयोग गर्ने सांसद तथा कार्यक्रमको स्वीकृति दिने प्राबिधिकलाई पनि कारवाही गर्न सम्बन्धित निकायलाइ निर्देशन दिएको छ । उक्त फछ्र्यौट हुन नसकी बेरुजु मा रहेको बजेटको तत्काल फछ्र्यौट गर्न ध्यानाकर्षण पनि गराइए पनि अहिलेसम्म कार्यनयन भएको छैन ।

प्रकाशित मिति: बिहिबार, असार ७, २०७५ /Thursday, June 21st, 2018, 11:47 am