पशु बीमा कार्यक्रममा अनुदान

रामहरि कार्की/ललितपुर, जेठ ३१ । बागमती गाउँपालिकाले पशु पालक कृषकलाई लक्षित गर्दै पशु बीमा कार्यक्रम सुरू गरेको छ । व्यवसायिक पशुपालक कृषकलाई आकर्षित गर्न र हुन सक्ने क्षतिबाट जोगाउनको लागि यस्तो कार्यक्रम ल्याएको हो ।

बीमा कार्यक्रम ल्याएसँगै कृषि क्षेत्रमा आकर्षण बढ्ने अनुमान गरिएको छ । पछिल्लो समय गाउँपालिकाभित्र दुध, मासु तथा अण्डा व्यवसाय गर्ने कृषकहरुको संख्या बढ्न थालेको छ । व्यवासायले गाउँपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्य राख्दै बीमा कार्यक्रम ल्याएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम गत फागुनमा भएको गाउँपालिकाको दोस्रो गाउँसभाबाट पारित भएको थियो । अहिले यो कार्यक्रम लागु भएसँगै धमाधम पशु बीमा गर्नेको लहर नै चलेको छ । यस्तो किसिमको कार्यक्रमले गाउँपालिकामा रहेको पशुपालक कृषकलाई राहत मिलेको कृषकले बताएका छन् । ‘कृषि पेशामा युवालाई आकर्षित गर्न र विदेश पलायनबाट रोक्न पशु बीमा योजना अन्तर्गत यस्तो कार्यक्रम ल्याएका हौं,’ बागमति नगरपालिका– ३ का वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले भने, ‘यसलाई हामीले अहिले प्राथमिकतामा राखेका छौं ।’

केही गरी पशुको मृत्यू भए त्यसको क्षतिबाट कृषक जोगिने गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले जानकारी दिए । उनले बीमा कार्यक्रमपछि कम्पनीले त्यसको क्षति व्यहोर्ने भएकोले कृषकलाई आर्थिक भार कम हुने बताए । उनका अनुसार बीमा कम्पनीलाई तिर्नु पर्ने प्रिमियम बापतको रकम ५० प्रतिशत रकम सरकार, २५ प्रतिशत रकम गाउँपालिका र २५ प्रतिशत रकम सम्बन्धित कृषकले व्यहोर्ने छन् । ‘यो ७ सय ५३ गाउँपालिकामध्ये बागमती गाउँपालिकाले पहिलो पटक शुरु गरेको हो,’ लोप्चनले भने ।

 

यो पनि पढ्नुहोस्

बाग्मती गाउपालिकाको सबै विद्यालयमा विद्युतीय हाजिरी

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 5:00 am