सामुदायिक वनमा वडाध्यक्षको रजाई

रामहरि कार्की/ललितपुर, जेठ ३१ । विहानैदेखि ढुङ्गा, माटो, बालुवाले भरिएका ट्रिपर सडकमा लामबद्ध हुन्छन् । ट्रिपरले सडक छेकेपछि स्कूल, सरकारी कार्यालय, एम्बुलेन्सलगायत सवारी घन्टौं जाममा फस्छन् । घरको अगाडिबाट गुडेका हेभी ट्रिपरले घर हल्लाउछ । सबैतिर धुलाम्य बनाउँछ । ग्रामीण क्षेत्रबाट तरकारी, दुध लगायत अन्य उत्पादन सामग्री बोकेका सवारी घ्याच्च रोकिन्छन् । ती सवारी पनि घन्टौं जाममा फस्छन् । पछिल्लो समय ललितपुरको लेले–टिकाभैरव सडक प्रयोगकर्ता र स्थानीयले यस्तै समस्या खेप्दै आएका छन् ।

अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योग, वालुवा र ढुंगा खालीले प्रयोग गर्दै आएका सयौं ट्रिपरले सडक नै कब्जा गर्न थालेका छन् । ठूला गाडी सडक अस्तव्यस्त बनाएपछि त्यसको असर सडक प्रयोगकर्ताहरुमा परेको छ । यी क्रसर र खानीमा ललितपुरका जनप्रतिनिधि र प्रहरीको संलग्नता छ । दुई निकायको मिलोमत्तोमा खुलायाम वालुवा र ढुङ्गा निकासी हुँदै आएको हो । लेले, नल्लु, डुकुछाप, बागमती गाउँपालिकाका क्षेत्रका अवैध खानी, क्रसर तथा वालुवा वासिङ उद्योगहरु वडाअध्यक्ष र प्रहरीको सेटिङमा सञ्चालन भएका छन् ।

गोदावरी नगरपालिकाका खानी संयोजक तथा वडा अध्यक्ष विष्णुमान महर्जनले नै गैरकानुनी तरिकाले वन मास्दै प्राकृतिक स्रोत साधनको दोहोन गरिरहेको स्थानीयवासीले दैनिकीन्युजलाई बताए । स्वयं वडाध्यक्ष महर्जनले आफ्नै उपस्थितिमा सामुदायिक बनमा डोजर लगाएर प्राकृतिक स्रोत साधनको दोहन गरिरहेको स्थानीयवासीको आरोप छ । ‘३/४ महिना अघिदेखि सोही वडा कै दुम्सीडोल ठूलो सामुदायिक वन उपभोक्ता समूहको वन मासेर अवैध तरिकाले ढुङ्गा खानी सञ्चालन गरिरहेका छन्,’ स्थानीय लक्ष्मण रानाले भने, ‘यसले यो क्षेत्रका स्थानीयलाई निकै अवरोध सिर्जना गरिदिएको छ । उनका अनुसार जंगल मासेर, डोजर चलाएर ढुङ्गा खानी, क्रसर सञ्चालन भएपनि प्रहरीले कुनै कारवाही नगरेको भन्दै स्थानीयवासी प्रहरीको भूमिकाप्रति पनि असन्तुष्ट छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको संयोजकत्वमा जिल्ला खानी तथा क्रसर उद्योगको अनुगमन समितिले उक्त क्षेत्रमा अनुगमन नगरेको वर्षौ बितेको छ । गोदावरी नगरपालिकामा खानीको अनुगमन गर्न उपप्रमुख मुना अधिकारीको संयोजकत्वमा खानी अनुगमन समिति बनाएता पनि उनले कुनै काम नगरेको स्थानीयको आरोप छ ।

वनमा अवैध तरिकाले ३/४ महिना अघिदेखि निर्धक्क यस्तो गतिविधि भैरहँदा सामुदायिक वन, जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, गोदावरी नगरपालिका, प्रहरी प्रशासन सबै चुप बसेको प्रति स्थानीयवासीले आश्चर्य प्रकट गरेका छन् ।

संसदको प्राकृतिक स्रोत साधन समितिले समेत यस ठाउँमा वातावरणीय प्रभाव, वन विनास, धूलो धुवाँ लगायतका प्रदुषण, स्थानीयको कष्टकर जनजीवनलाई हेरेर खानी तथा क्रसर सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाएको थियो ।

तर आर्थिक प्रभावमा परी सरकारी निकायका उच्च पदस्थ कर्मचारीले तत्कालिन संसदको उक्त निर्देशन विपरित खानी सञ्चालन गर्न दिएको तथ्य खुलेको हो ।

वर्र्षैंदेखि लेले, नल्लु खोलाको किनार, देवीचौरलगायतका स्थानमा अवैध ढुङ्गाखानी सञ्चालनमा आए पनि नियामक सरकारी निकाय यसबारे मौन छन् । संसदको प्राकृतिक स्रोत साधन समितिले ६ वर्षअघि यस क्षेत्रमा खानी सञ्चालनमा रोक लगाउनुपर्ने र अन्य सम्भावित क्षेत्रको खोजी गरि खानी क्षेत्र घोषणा गरेर मात्र सञ्चालन गर्न निर्णय गरेको थियो ।

ट्रिपर दादागिरी
यस क्षेत्रका सडकमा मालबाहक टिप्पर मात्रै हुँइकिने गरेका छन् । जसकाकारण गर्दा सडकका सडक पनि खाल्ड खुल्डीमा परिणत भएको छ । क्रसर उद्योगको ठूला आवाज, धूलो त्यसमा टिप्परको प्रेसर हर्न बजाउँदै हुइँकिने नल्लुखोलामा देख्न पाइने विशेषता नै रहेछ । सयौँको टिप्परले नल्लुखोला, टीकाभैरव बजार, नख्खु करिडोर हुँदै उपत्यकाका विभिन्न ठाउँमा गिट्टी ढुङ्गा ओसार्छन् । टिप्पर हिँड्ने समय बजारलगायतका स्थानमा जाम बढ्ने हुँदा एम्बुलेन्स, स्कुल बस, भ्यान, दूध र तरकारीको सवारी घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।

डोजर चल्दा पानीको मुहान सुक्नेदेखि घर हल्लिनेसम्म
खोला र वन कसैको निजी हुन सक्दैन । यी त राज्यको स्वामित्वमा रहने हुन् । तर नल्लुखोलामा भने खोला र वनलाई निजी सम्पत्ति झैँ गरी ठूल्ठूला स्काभेटरको प्रयोग गरी ढुङ्गा उत्खनन् गरिरहेको छ । यो अवैध भएको स्थानीयले बताएको छ । त्यहाँबाट दैनिक सयौँ टिप्पर माटो, ढुङ्गा र ग्राभेल पैठारी हुने गरेको प्रत्यक्षदर्शी स्थानीयहरुले सुनाए । ‘यहाँ दिनमा एउटा गाडीले ७ ट्रिपसम्म ढुङ्गा ओसार्छन् ।’, एक स्थानीयले भने, ‘यहाँ सयौँ टिप्परले ढुङ्गा, माटो र ग्राभेल ओसार्छन् ।’ वनमा स्काभेटर, ब्रेकर चलाएर खानेपानीको मुहान सुकेको नल्लुका एक पीडितले आफ्नो दुखेसो सुनाए । मुहान सुकेपछि अन्तै मुहानको पानी खाइरहेको उनले बताइन् । उनकाअनुसार खानीमा जब डोजर चल्न थाल्छ तब घर हल्लिएर बस्नै नहुने गरेको छ । डोजर चल्दा हामी कि खाली ठाउँमा कि त बारीतिर काम गर्न जान्छौँ ।’ उनले भने, ‘नत्र त घर हल्लेर बस्नै सक्दैनौँ । डाँडै थर्केर हल्लिन्छ । घरमा के बस्न सकिएला र ?’

प्रकाशित मिति: बिहिबार, जेष्ठ ३१, २०७५ /Thursday, June 14th, 2018, 5:04 am