मधुरो रैछ,अधुरो रैछ (गीति कविता )

मधुरो रैछ,अधुरो रैछ
निधारमा लेखिदिने कलमको मसि त्यो।
नदेख्न सक्छु न भेट्नै सक्छु
विधाता तिमीले कोरेको शब्द त्यो।
कहाँ देखु हुन्छ कहाँ भेटुँ हुन्छ
तिमीले लेखेको शब्दको बनोट त्यो।
आकार नि होला प्रकार नि छ होला ?
कुन शब्द कहाँ नेर अधुरो हुन गो ?
सच्याउन पाए सच्च्याउँथे होला ?
विधाता तिमीलाई बोलाई कोहि बेला।
कुन ठाउँमा बस्छौ कहाँ नेर लुक्छौ ?
भन्देउन दैव आएर एक फेर।
भेट्न मन लाको छ सारै मलाई ।
तिमीलाई धितमारी हेर्नलाई एक फेर।
नडराइ आइदेउ भनेर गैदेउ,
कहाँ नेर अधुरो लेखाइ छ भनेर।
तिम्रो त मसि मधुरो रै गो,
मै लेख्छु अधुरो चहकिलो पारेर।
गुनासो तिमीलाई केही गर्ने छैन।
आएर देखाइ देउ खाली ठाउँ मलाई ।
मै पूरा गर्छु ,मै आफैं भर्छु,
बाँकिको अध्याय लेख्न दिन्न अरुलाई,
मधुरो रैछ, अधुरो रैछ
निधारमा लेखिदिने कलमको मसि त्यो।।

काठमाडौ नेपाल (हाल भिक्टोरिया सिसेल)

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 8:00 pm