उपभोक्तालाई महँगीको भारी

काठमाडौं, जेठ ३० । सरकारले बजेट भाषणमा करको दायरा परिवर्तन गरेको बहानामा व्यापारीले दैनिक खाद्य वस्तुको मूल्य बढाएपछि त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेका छन्। आगामी आर्थिक वर्ष ०७५/७६ को बजेटमा खाद्यवस्तु आयातमा लाग्ने करको दर बढाएपछि व्यापारीले दाल, चामल, खाने तेल र तरकारीको भाउ बढाउँदा उपभोक्ताको भान्सा महँगिएको हो।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछि न्यून आम्दानी हुने, ज्यालादारी गरेर घरव्यवहार चलाउने र विद्यार्थी बढी मर्कामा परेका छन्। व्यापारीले स्टक खाद्यवस्तु पनि मूल्य बढाएर बेच्न थालेका छन्। उपभोग्य वस्तुको मूल्य किलोमा चार देखि २० रुपैयाँसम्म बढेको व्यवसायी बताउँछन्। बजेट भाषण (जेठ १५) पछि यसै साता दाल किलोमा १०, खाने तेल लिटरमा २० रुपैयाँ र चामल बोरा (२५ किलो) मा सय रुपैयाँ मूल्यवृद्धि भएको छ।

एक सय २० रुपैयाँ लिटरमा बिक्री भएको खाने तेलको मूल्य एक सय ४० पुगेको छ। दाल किलोको ९० देखि एक सयबाट बढेर एक सयदेखि एक सय १०, मनसुली चामल बोरा (२५ किलो) को १५ सयबाट १६ सय रुपैयाँ पुगेको किराना तथा खुद्रा व्यापार संघले जनाएको छ। नागरिक दैनिकबाट

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 7:01 am