कांग्रेसलाई अघि बढाउने यस्तो छ तयारी

काठमाडौं, जेठ ३० । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाले तयार पार्ने पार्टी विधान शंसोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना अन्तर्गत नया संरचना र नया अधिवेशन लगायतका प्रस्तावमाथि तीव्र रुपमा छलफल भइरहेको छ ।

समावेशीकरण, आर्थिक सशक्तिकरण, स्थानीय तह शसक्तीकरण, सामाजिक शसक्तिकरण, मर्यादाक्रम निर्धारण, पार्टी संरचना, टिकट वितरण सम्बन्धि संरचनागत जिम्मेवारी लगायतका प्रस्तावहरु माथि छलफल भैरहेको पाइएको छ ।

जिल्ला सभापतिहरुको भेलामा प्रस्तुत हुने प्रस्ताव माथि अहिले भैरहेको छलफलका विषयमा कांग्रेस सभापति शेरवहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु एकमत हुन सकेका छैनन् ।

गुट उपगुटले कमजोर भएको कांग्रेस भित्र केन्द्र देखि गांउ तहसम्म नै कांग्रेसलाई चलायमान र शसक्त बनाएर अघि बढाउन गर्नुपर्ने कामका बारेमा जिल्ला सभापतिहरु पनि गुटगत रुपमै छलफल गरिरहेका छन् । कांग्रेस भित्र देउवा, पौडेल बाहेक कृष्णप्रसाद सिटौला गुट पनि सशक्त छन् । साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ ।

स्थानीय तह, प्रादेशीक तह र संघीय तहको निर्वाचन परिणामका बारेमा कांग्रेस केन्द्रिय समितिले जिम्मेवारी नलिए पनि जिल्ला सभापतिहरुले भने त्यो निर्वाचन परिणामको जिम्मेवारी लिने भएका छन् ।

असार ५ गते देखि ७ गते सम्म मकवानपुरको हेटौडामा हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको लागि प्रस्ताव तयार पर्न जुटेका जिल्ला सभापतिहरु पक्ष विपक्षमा देखिएपछि विभिन्न टिका टिप्पणी हुन थालेको छ ।

गुट उपगुटको कारण इतिहासकै सबैभन्दा कमजोर बनेको कांग्रेसलाई अब ५ वर्ष पछि हुने निर्वाचनमा सबैभन्दा ठुलो दलको हैसियतमा ल्याउने मात्र है आम जनताको आशा र भरोसाको पार्टी बनाउन तत्कालिन अल्पकालिन र दीर्घकालिन रणनीति र कार्ययोजना बनाएर पार्टीलाई अघि बढाउन भने सबै जिल्ला सभापतिहरु एकमत छन् ।

आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ ३०, २०७५ /Wednesday, June 13th, 2018, 6:30 am