इदको दिन विदा हुने !

काठमाडौं, जेठ २९ । सरकारले मुस्लिमहरुको महान चाढ इदउल फित्रको विदा दिने संकेत दिएको छ ।

नेपाल मुस्लिम इत्तेहाद संगठनले गृहमन्त्री रामबहादुर थापासँग इदउल फित्र र इदउल अजहा पर्वमा सार्वजनिक बिदा दिन माग गरेपछि सरकारले विदा दिन लचक हुने संकेत दिएको हो ।

यसअघि सरकारले २२ वटा विदा कटौती गर्ने निर्णय गर्दा इदउलफित्रको विदा पनि काटिएको थियो ।

मंगलबार संगठनका उपाध्यक्ष ताजमोहम्मद मियाँ, महासचिव जुनेद अन्सारीलगायतले मन्त्री थापालाई भेटेर काटिएका मुस्लिम पर्व कायम गराउन माग गरेका थिए ।

रमजान पर्व मनाइरहेका मुस्लिमहरुले आगामी साता इदउल फित्र मनाउँदैछन् । बर्षौ देखि दिइदै आएको बिदा कटौतीले लाखौँ मुस्लिमलाई समस्या परेको गृहमन्त्रीसँग उनीहरुले गुनासो गरेका थिए ।

सरकारले पुरै सार्वजनिक विदा दिन नसकेपछि मुस्लिमहरुका लागि विदा दिन सक्ने जनाएको हो । यद्यपी यसको निर्णय मन्त्रीपरिषदको बैठकबाट गर्नुपर्ने भएकाले मन्त्री थापाले आधिकारिक निर्णय दिएका छैनन् । स्रोतका अनुसार गृहमन्त्री थापा विदा दिनु पर्ने पक्षमा रहेका छन् ।


यस्तै जानकारी, समाचार अनि रोचक तथा ज्ञानबर्धक कुराहरुको लागि  कृपया हाम्रो Facebook पेज लाइक गर्न, Twitter मा Follow गर्न र हाम्रो Youtube च्यानल subscribe गर्न नभुल्नु होला ।

प्रकाशित मिति: मङ्लबार, जेष्ठ २९, २०७५ /Tuesday, June 12th, 2018, 4:50 pm