१९५० को असमान सन्धी फेर्न भारत सहमत : प्रधानमन्त्री ओली

काठमाडौँ, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् १९५० को असमान सन्धी फेर्न भारत सहमत भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग हेरिएर होइन, बराबरीको सम्वन्ध स्थापित हुने भन्दै विराटनगरमा रहेको भारतीय फिल्ड अफिस छिट्टै हट्ने दाबी गरे ।

२०६५ भदौ २ मा आएको बाढीले कोशी ब्यारेज भत्काएपछि नेपालका सवारी साधनहरु चलाउन र पास दिन विराटनगरमा भारतीय दूताबासले फिल्ड अफिस खोलेको थियो ।

बैठकलाई सम्बोधन गर्दै उनले नाकाबन्दी अस्वीकार गरेर भारतलाई एक खालको सहमतिमा ल्याएको दाबी गरे । प्रधानमन्त्री ओलीले एकीकरणपछि बनेको शक्ति देश बनाउन प्रयोग गर्ने भएकाले विपक्षलाई दमन नगर्ने र कांग्रेस आत्तिन नपर्ने बताउदै ठूलो शक्तिको आडमा आफ्नो पार्टी घमण्डी नहुने पनि ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले देश र जनताको हितमा आवश्यक परे संविधान संशोधन गर्न तयार रहेको बताए ।

यसैबीच संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एमाले–माओवादी केन्द्रबीचको एकता सामान्य परिघटना नभइ असाधारण रहेको बताए ।

कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि दुई पार्टीको एकताले मार्ग प्रशस्त गरेको उनले उल्लेख गरे ।

एकतापछि आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको भन्दै अध्यक्ष दाहालले जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान गम्भीर भएर लाग्ने प्रतिवद्धता जनाए ।

केही दिनभित्रै वर्तमान सरकारको नीति तथा कार्यक्रम आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 2:40 pm