सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै दिल्ली डेयरडेभिल्स विजयी

काठमाडौं, जेठ ५ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनसँगै दिल्ली डेयरडेभिल्स विजयी भएको छ ।शुुक्रबार राति सम्पन्न खेलमा महेन्द्रसिं धोनीको टिम चेन्नई सुपर किङ्सलाई ३४ रनले पराजित गरेको हो ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १ सय २८ रन मात्रै बनाउन सक्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए ।  रविन्द्र जडेजाले २७, सुरेश रैना १५,  महेन्द्र सिंह धोनी १७  र शेन वाट्सनले १४ रन बनाए ।

चेन्नईबिरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १ विकेट लिए भने २१ रन खर्चेका थिए। चौथो ओभर भने उनका लागि महंगो भयो जहाँ उनले ११ रन खर्च गर्नुपर्‍यो। तेस्रो ओभरको पहिलो बलमा सुरेश रैनालाई क्याच आउट गरेका थिए। आफ्नो पहिलो र तेस्रो ओभरमा २/२ रनमात्र दिएका सन्दीपले लोभलाग्दो प्रदर्शन गरे। दिल्लीका लागि अमित मिश्रा र ट्रेन्ट बोल्टले २-२ विकेट लिए ।

टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन जोड्यो। दिल्लीका रिसब पन्तले ३८, हर्सल पटेलले ३६ र विजय शंकरले ३६ रन बनाए।

चेन्नाई १३ खेलमा १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा र अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको ८ अंक छ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 6:56 am