नेपाल कम्युनिष्ट पार्टीः राज्य संयन्त्रमा पनि शक्तिशाली

काठमाडौं, जेठ ५ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को राज्य संयन्त्रमा पनि बलियो पकड कायम गरेको छ ।

एकीकरणपछि मुलुकमै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । राज्यका तीन तह(संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

दुई दलबीच एकतापछि नेपालको राजनीतिक इतिहासमा उल्लेख्य जनमत प्राप्त यो दलको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका छन् ।

उनले नेपाल कम्युनिष्ट पार्टीको एकमना सरकारको नेतृत्व गरेका छन् । सरकारमा यही पार्टीका ४ राज्यसहित २१ मन्त्री छन् ।

पार्टी एकीकरणसँगै संघीय संसदमा ३ सय ३४ सीटमध्ये नेकपाको पक्षमा २ सय १७ स्थान कायम भएको छ । जुन ६४.९७ प्रतिशत हो ।

संघीय संसदअन्तर्गतको प्रतिनिधिसभातर्फका २ सय ७५ सीटमध्ये १ सय ७४ र राष्ट्रियसभातर्फ ५९ मध्ये ४३ सिटमा नेकपाको प्रतिनिधित्व छ ।

सातवटा प्रदेशमध्ये दुई नम्बरबाहेक अन्य यही पार्टीको एकमना सरकार छ । अन्य प्रदेशसभामा यही दलको एकलौटी बहुमत छ । -नागरिक दैनिकबाट

प्रकाशित मिति: शनिबार, जेष्ठ ५, २०७५ /Saturday, May 19th, 2018, 6:46 am