सिन्डिकेट हटाउने महानिर्देशक मन्त्रालय तानिए

काठमाडौं, जेठ ४ । यातायात सिन्डिकेट हटाउन महत्वपुर्ण भूमिका निभाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ठाडो आदेशमा भट्टराईलाई मन्त्रालय तानिएको हो ।

मन्त्री रघुवीर महसेठले भट्टराईलाई बुधबार राति नै मन्त्रालय तान्ने निर्णय गरे पनि कर्मचारीको असहयोगका कारण पत्र थमाउन सकेका थिएनन् ।

नयाँ कम्पनीलाई रुट इजाजत दिन र सिण्डिकेट तोड्न भट्टराईले महत्वपूर्ण भूमिका खेलेका थिए । भट्टराईको आलोचना गर्दै आएका यातायात व्यवसायीहरुले उनको सरुवा गराउन दवाव दिँदै आएका थिए ।

सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ भने व्यवसायीहरुप्रति लचिलो बनेका थिए ।

महानिर्देशक भट्टराई सिन्डिकेटको बिरुद्द कडा रुपमा प्रस्तुत हुँदा अहिले सिन्डिकेट त हटाएको छ तर, त्यसलाई व्यवस्थित गर्न अझ धेरै काम गर्नु पर्ने छ । यस्तो महत्वपुर्ण समयमा यातायात व्यवस्था विभागमा महानिर्देशक फेर्नुलाई व्यवसायीको प्रभावमा परेर गरिएको चलखेलका रुपमा हेरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 4:07 pm