काँग्रेसले ढुंगामुढा र हडताल गर्दैन : प्रवक्ता शर्मा

काठमाडौँ, जेठ ४ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हड्ताल गर्ने आम मान्यतामा कांग्रेस नरहेको बताएका छन् ।

बाँकेमा शुक्रबार बिहान भएको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले प्रतिपक्ष दलले रचनात्मक तथा सिर्जनात्मक भूमिका खेल्ने बताउँदै ढुंगामुढा गर्ने, हडताल गर्ने असल प्रतिपक्षको गुण नभएकाले नेपाली कांग्रेस असल प्रतिपक्ष भएको बताए ।

नेपाली कांग्रेसले वर्तमान सरकारको सय दिन पुगेपछि कामको समीक्षा गर्ने बताउँदै उनले कमजोर र गलत पक्षमा खबरदारी तथा सही कामको समर्थनमा आफ्नो दलले एक इन्च पनि कन्ज्युस्याँई नगर्ने पनि बताए ।

उनले दुई ठूला कम्युनिष्ट पार्टीको एकताले लोकतन्त्रलाई अझ बलियो बनाउने भएकाले आफ्नो दलले नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुनुलाई त्यही कडीका रुपमा लिएको बताए ।

उनले एकपटक निर्वाचन हार्दैमा नेपाली कांग्रेस कमजोर भएको भन्ने तर्क गलत भएको भन्दै अब हारको समीक्षा गरेर संगठन निर्माणमा कांग्रेस परिचालन हुने बताए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 1:02 pm