केन्द्रीय सदस्यहरुको वरीयता तोक्दै नेपाल कम्युनिष्ट पार्टी

काठमाडौँ, जेठ ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकतापछि बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीले आज केन्द्रीय सदस्यहरुको वरीयता तोक्ने भएको छ ।

हिजो पार्टी घोषणासँगै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटिको घोषणा गरेर सदस्यहरुलाई सपथ खुवाए पनि वरीयता भने तोकिएको थिएन । नेपाल कम्युनिष्ट पार्टीले आज केन्द्रीय सदस्यहरुको वरीयता तोकेर सार्वजनिक गर्ने तयारीमा नेतृत्व जुटेको हो ।

त्यस्तो पार्टीले आज कार्यालय व्यवस्थापनको काम पनि गर्ने भएको छ । नयाँ पार्टीले पार्टी केन्द्रीय कार्यालयका रुपमा तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीलाई प्रयोग गर्ने भएको छ ।

त्यस्तै तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडालाई जनवर्गीय संगठनहरुको कार्यालयका रुपमा प्रयोग गरिने भएको छ । हाल रहेका ती पार्टी कार्यालयहरुलाई सरसफाई गरि पुरानो संरचनाका सूचना तथा बोर्डहरु आज हटाईने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 12:48 pm