कति आवेदन पर्यो रैराङ हाइड्रोपावरको आईपीओमा आवेदन भर्ने अवधि सकिदा ?

काठमाडौं, जेठ ४ । वैशाख ३१ देखि विक्रीमा आएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर (आइपीओ) विहीबारदेखि आवेदन दिने समय सकिएको छ । विक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार रैराङको साधारण शेयरमा बुधबारसम्म १ लाख ७ हजार जना आवेदकबाट रु. ७९ करोड ७१ लाख बराबरको आवेदन माग भएको छ । यो आवेदन मागभन्दा १० दशमलव ४३ गुणा बढी हो । विहीबारसम्मको विवरण भने आउन बाँकी रहेको छ । बुधबार परेका कतिपय आवेदन प्रमाणिकरण हुन बाँकी रहेको क्यापिटलले जनाएको छ । यस आईपिओमा ७६ हजार ४०० जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर प्राप्त गर्दछन् । बुधबारसम्म परेको आवेदक संख्या ३० हजार ७१७ धेरै हो ।

रैराङ हाइड्रोपावरले एकसय रुपैयाँ अंकित दरका ८ लाख ४० हजार कित्ता आईपिओ निष्कासनको लागि धितोपत्र बोर्डले अनुमति दिएको थियो । कम्पनीको ४ प्रतिशत शेयर ३३ हजार ६ सय कर्मचारीका लागि, ५ प्रतिशत ४२ हजार कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी ७ लाख ६४ हजार ४ सय कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओे निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ । इच्छुक लगानीकर्ताहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । बैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कम्पनीको आइपीओ बिक्री खुल्ला गरेको थियो । आवश्यक भन्दा माग बढी आएकोले विहीबार देखि बन्द गरिएको छ ।

यो जलविद्युत कम्पनीले गत जेठमा आयोजनास्थल प्रभावित स्थानीय पाँचथर र ताप्लेजुङवासीका लागि ५ करोड ६० लाख रुपैयाँको आइपीओ बिक्री गरेको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दापछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन हुन लागेको हो ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ४, २०७५ /Friday, May 18th, 2018, 9:04 am